सात समुद्र पारीबाट बेसहारालाई साथ

सुर्खेत । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाकी १६ वर्षिया कमला विकले सानै छँदा बाबुआमा गुमाइन् । बाबुआमाको साथ र आर्थिक अभावका कारण अन्य साथीहरु जस्तै उनले पढ्ने अवसर पाइनन् । जसोतसो कक्षा ४ सम्म पढेकी कमलाले त्यसपछिको पढाईका लागि कसैको साथ पाइनन् । उनको यो समस्याबारे अमेरिकामा रहेकी नेपाली जयन्ती थापाले ६ वर्षअघि थाहा पाइन् ।
आर्थिक अभावमा पढ्न नपाएको भन्ने जानकारी पाउनासाथ उनले कमलाको उच्च शिक्षासम्मको पढाईको जिम्मा लिइन् । समाजसेवी थापाकै सहयोगमा पढाई अघि बढाएकी कमला अहिले उच्च माध्यमिक शिक्षा परिक्षा (एसइई) दिएर बसेकी छिन् । ‘मैले उहाँलाई देखेको पनि थिएन चिनेको पनि थिएन, नाम मात्रै सुनेको थिएँ,’ उनी भन्छिन्, ‘आफूले कमाएको पैसाबाट मजस्ता धेरैलाई पढाइरहनुभएको छ, मेरो आमा नै हो उहाँ ।’
सुर्खेतको वीरेन्द्रनगरमा घर भई हाल अमेरिकाको भर्जिनिया बस्दै आएकी थापाको व्यक्तिगत सहयोगमा कमला मात्रै हैन जाजरकोटकी प्रतिभा विक पनि पढ्दै आएकी छिन् । अहिले कक्षा १२ को परिक्षा दिएर बसेकी प्रतिभाका एक बहिनी र दुई भाइ पनि उनकै सहयोगमा अध्ययन गरिरहेका छन् । ‘हाम्रो बुवा हुनुहुन्न,’ प्रतिभाले भनिन्, ‘आमाले पनि छाडेर गएपछि हामी वेसहारा जस्तै भएका थियौँ, अहिले हामी चार भाइबहिनीको नै पढाइको जिम्मा जयन्ती म्याडमले लिनुभएको छ ।’ पाँच वर्षअघिदेखि उनीहरुको पढाईको जिम्मा थापाले नै लिएकी हुन् । निरन्तर रुपमा फरक–फरक क्षेत्रमा सहयोग गर्दै आएकी थापाको नाम अहिले दुःख परेको समयमा धेरैले सम्झिने नाम बनेको छ ।


दैलेख जन्मिएकी जयन्तीले आफ्नो एक कक्षादेखि पाँच कक्षासम्मको पढाई दैलेखमै गरिन् । त्यसपछि सुर्खेत बसाईँ सरेर परिवारसँग आएका उनले कक्षा ६ देखि १२ सम्म अमरज्योती नमुना माविमा पढिन् । सुर्खेत शिक्षा क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेपछि काठमाण्डौंको त्रिचन्द्र कलेजबाट स्नातकोत्तर उत्तीर्ण गरिन् ।
सानैदेखि आफ्नो घरभित्र भन्दा पनि समाजमा आर्थिक अभावका कारण विभिन्न समस्या झेलिरहेकाहरुलाई देखेर नै समाजसेवा गर्ने प्रेरणा मिलेको उनी बताउँछिन् । ‘मैले आफूले त्यति धेरै आर्थिक संकट झेल्नुपरेन,’ उनले भनिन्, ‘तर समाजमा धेरै मानिसहरु पैसा नै नहुँदा समस्या झेलेको देखेर मैले समाजसेवा भन्ने नबुझेरै पनि बालबालिकालाई पढाउने काम गर्थेँ ।’
कक्षा ११ मा नै पढ्दाखेरि रुकुमका सुशील चन्दसँग विवाह गरेकी थापाले उनीसँगै आफ्नो पढाईलाई निरन्तरता दिएर समाजशास्त्रबाट स्नातकोत्तर गरिन् । समाजमा अन्याय र विभेद अन्त्य गर्ने सोच राख्दै वकिल बन्ने लक्ष्य लिए पनि उनले कानून पढिनन् । तर समाजशास्त्र पढेर समाज रुपान्तरणको बाटो आफूले रोजेको उनको भनाइ छ ।
पढाई सकेपछि उनले आफ्नो श्रीमानसँगै रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको बाल कल्याण उच्च माविमा प्लस टु पढाउन थाले । २०६५ देखि २०६७ सम्म अध्यापन गराउँदै सामाजिक कार्यमा पनि सक्रिय भएर लागिन् । ‘त्यतिबेला त्यहाँ पढेका महिला नै थिएनन्,’ उनले भनिन्, ‘हिंसाबाट निकै पीडित महिलाहरु मसँग धेरै सहयोग माग्न आउँथे ।’
समाजका विभिन्न समस्या समाधान गर्ने उद्देश्यले रुकुमको आठबिसकोट नगरपालिकामा उनले २०६६ सालमा सिर्जनशिल महिला विकास केन्द्र स्थापना गरेर महिलाको सशक्तिकरण र बालबालिकाको क्षेत्रमा काम गर्न थालिन् । उक्त संस्थामार्फत समाजमा मदिरा नियन्त्रण गर्ने, महिला हिंसा अन्त्य गर्ने, सरसफाई अभियानलगायत काम गर्न थालियो । सोही संस्थाबाट नै पाँच जना बालबालिकालाई उच्च शिक्षासम्मको अध्ययन गराउने घोषणा पनि थापाले गरिन् ।
सन् २०१० मा श्रीमानलाई डिभी परेपछि उनी अमेरिका गईन् । ‘अमेरिका लामो समय नबसी घुमेर फर्किने भनी गयौँ,’ उनले भनिन्, ‘तर छोरा छोरीको राम्रो भविष्यका लागि भएपनि यहाँ बस्नैपर्ने भयो ।’ अमेरिकामा बसेपनि थापाको ध्यान भने नेपालमा रहेका असहाय, अनाथ र विपन्न नागरिकमाथि नै थियो । त्यसपछि उनले रुकुममा आफूले नै स्थापना गरेको सिर्जनशिल महिला विकास केन्द्र मार्फत नै सामाजिक कामलाई निरन्तरता दिन थालिन् ।
२७ बालबालिकाकी सहारा
अमेरिकामा रहेपनि समाजसेवी थापाले कर्णालीका चार जिल्लाका २७ बालबालिकालाई आफ्नो व्यक्तिगत सहयोगमार्फत पढाइरहेकी छिन् । उनको सहयोगमा सुर्खेतका ११, रुकुमपश्चिमका ६, जाजरकोटका चार र दैलेखका ६ जना विद्यार्थी पढिरहेका छन् ।
दैलेखको त्रिभुवन माध्यमिक विद्यालयमा केही दिन अघि मात्रै उनले तीन लाख रुपैयाँको जगतजंग थापा स्मृति गरिब तथा जेहेन्दार अक्षयकोष स्थापना गरेकी हुन् । थापाले अमेरिकबाट पठाउने सहयोग सामग्री तथा रकम यहाँ रहेका समाजसेवी तथा रुकुममा सिर्जनशील महिला विकास केन्द्रमार्फत बालबालिकासम्म पु¥याइरहेकी छिन् ।
सुर्खेतको अमरज्योति नमुना माध्यमिक विद्यालयमा पाँच लाख बराबरको जयन्ती थापा अक्षय कोष र पदमपुरस्थित विद्यालयमा एक लाख बराबरको धर्म-पार्बती (बुवाआमा) अक्षयकोष स्थापना गरी अनाथ तथा असहाय बालबालिकाको शिक्षा आर्जमा योगदान पु¥याइरहेकी छिन् ।


थापाले असहाय बालबालिकाको उच्च शिक्षासम्मको पढाई मात्र नभई उनीहरुलाई समय–समयमा खाद्यान्न, लत्ता कपडा तथा शैक्षिक सामग्री पनि अमेरिकाबाट नै पठाइरहने बताइन् । ‘मैले जिम्मा लिएका विद्यार्थी बाहेक अन्य विद्यार्थीलाई पनि झोला र स्टेशनरी सामग्री पठाइरहन्छु,’ उनले भनिन्, ‘दृष्टिविहीन, बहिरा र अपांगता भएकाहरुका लागि ब्रेललिपी, न्यानो लुगा, वैशाखीलगायत सामग्री पनि सहयोग गरेकी छु ।’
थापाले कोभिड–१९ को महामारीको समयमा वीरेन्द्रनगर नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ५१ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेकी थिइन् । यस्तै, उनले वीरेन्द्रनगरमा रहेको प्रशान्ती वृद्धाश्रममा १ लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेकी छिन् ।

थापाका अनुसार उनले आर्थिक अभावमा उपचार नपाएका बिरामी, भुकम्प पीडित, बाढी पीडित, आगलागी पीडित र पहिरो पीडितलाई राहत सामग्री सहयोग गरेकी छिन् । उनले माथिल्लो कर्णालीका समाजमा झन् धेरै समस्या रहेको भन्दै समन्वय गर्ने भरपर्दो व्यक्ति नपाएकाले त्यहाँ सहयोग गर्न नपाएका बताइन् । ‘मैले सुदूरपश्चिमको कैलाली, डोटी, अछाम र बाजुरामा पनि सहयोग पु¥याएकी छु,’ उनले भनिन्, ‘कतिले पैसा र सामग्रीमा अनियमितता गर्ने भएकोले सबै ठाउँमा पुग्न सकेकी छैन ।’
थापाले कैलालीमा बालविकासको दुई वटा भवन निर्माणमा पनि सहयोग गरेकी छिन् । अहिले उक्त भवन निर्माण भई बालबालिका अध्ययन समेत गरिरहेका छन् । त्यस्तै, उनले डोटी, बाजुरा र अछामका बाढी पहिरो पीडित तथा विद्यालयका बालबालिकालाई विभिन्न सामग्री सहयोग गरेकी छिन् ।
यस्तै, उनले साहित्य तथा खेलकुदको क्षेत्रमा प्रोत्साहनस्वरुप सहयोग गर्ने गरेकी छिन् । थापाका अनुसार जाजरकोटमा जयन्ती थापा महिला भलिबल कप, कर्णाली प्रिमियर लिग, कैलालीमा हुने क्रिकेट प्रतियोगितामा रकम सहयोग गर्दै आएकी छिन् ।
करिब डेढ करोड सहयोग
सन् २०१५ देखि निरन्तर समाजसेवामा लागिरहेकी थापाले आफ्नो कमाईको करिब डेढ करोड रकम सहयोग गरिसकेकी छिन् । ‘मैले आफ्नो देशका नागरिकका लागि गरेकी हुँ’ उनले भनिन्, ‘हिसाब किताब त राख्दिन, परेको बेला २० हजारदेखि एक-दुई लाखसम्म सहयोग गरिरहेकी हुन्छु ।’ उनको अमेरिकामा दुई वटा डिपार्टमेन्टल स्टोर र एउटा रेष्टुरेन्ट छ । सोही व्यवसायबाट भएको आम्दानीको दश प्रतिशत रकम बालबालिकाको पढाईमा, २५ प्रतिशत खेलकुदमा र करिब ४० प्रतिशत रकम भैपरी आउने संकटमा सहयोग गरिरहेको उनको भनाइ छ । ‘मेरो बुवा आमा र श्रीमानले मलाई दिएको साथले गर्दा मेरो यो काम सम्भव भएको छ,’ उनले भनिन्, ‘म अमेरिकामा बसेपनि आफ्नो देशका नागरिकलाई दुःख पर्दा सहयोग गर्न तयार छु ।’


कर्णाली र सुदूरपश्चिमका जिल्लालाई प्राथमिकतामा राख्दै सहयोग गरेकी थापाले काठमाडौं, नुवाकोट, चितवन, रौतहट, बारालगायत जिल्लामा पनि आफ्नो सहयोग पु¥याएकी छिन् । अहिले छोरा र छोरीसहित थापा नेपाल आएकी छिन् । उनले अमेरिकामा हुर्किएपनि आफ्ना छोरा छोरीले नेपालको अवस्थाबारे पनि थाहा पाउन् भनी कर्णाली घुमाईरहेको बताइन् ।