विभेदलाई छिचोल्दै सफलताको बाटोमा हिडेकी सीम्रण

"यौनिक तथा लैङ्गिक अल्पसंख्यकमाथीको विभेद कायमै "

सुर्खेत, ११ साउन । सीम्रण ठकुरीको जन्म कास्कीको पोखरामा भयो । सानैदेखि सबैसँग मिलनसार स्वभाव थियो सीम्रणको । सीम्रणलाई घरमा छोराको रुपमा व्यवहार गरिन्थ्यो । छोराको यौनाङ्ग लिएर जन्मिएको भएपनि उमेर बढ्दै जाँदा सानैदेखि फरक छु भन्ने लाग्थ्यो । उतिबेला समाजमा पनि महिला र पूरुषको मात्र चर्चा गरिन्थ्यो । हेर्दा पूरुषको यौनाअङ्ग भएपनि उहा आफुलाई महिला जस्तो बन्न मन लाग्ने गथ्र्यो । तर घरपरिवार समाजले भने पूरुषकै नजरमा हेर्ने हुँदा उहाँको मनमा केही समय अन्तरद्वन्द्व चल्थ्यो ।
उाहा भन्नुहुन्छ, ‘मलाई विद्यालयमा केटा साथीभन्दा केटी साथीसँग संगत गर्न मन लाग्थ्यो, तर शौचालय जाँदा भने मलाई सबैले गिज्याउथे, मलाई धेरै पिडाबोध हुने गर्दथ्यो ।’
विद्यालय उहाँको साथीभाईहरुले छक्का हिजडा भनेर जिस्काउथे । शिक्षक विद्यार्थीहरु सबैले फरक नजरले हेर्न थालेको भन्दै उहाले भन्नुभयो, ‘विद्यालयमा सबैले फरक नजरले हेर्न थाले । मलाई विभिन्न निकनेम दिएर गिज्याउन र होच्याउन थालेपछि म विद्यालय छोड्न बाध्य भए ।’
सीम्रणलाई लाग्थ्यो, यो समाजले मेरो भावना किन नबुझेको होला ? विभेदको पराकाष्ट नाघ्न थालेपछि उहा यो समाजको लागि बाच्नुको अर्थ छैन भन्नेसम्मको अवस्थामा पुग्नुभयो । एकपटक त म बाँचेर केही अर्थ छैन भन्ने सम्म पुगेको थिए, सीम्रण भन्नुहुन्छ ।
उहाले विभिन्न संघ संस्था र संचार माध्यबाट आफु लैङ्गिक तथा यौनिक अल्पसंख्यक रहेछु भन्ने थाहा पाउनुभयो । सामाजिक संकारका कारण उहाँ खुल्न भने चाहानुभएन । घरमा पनि महिलासँग बिवाह गरिदिने तयारी गरेका थिए । तर उहाले घरको प्रस्तावलाई अस्वीकार गर्नुभयो ।
२४ बर्षसम्म विभेदको सामना
यसैगरै नै उहाले २४ बर्षसम्म समाजमा विभेदको सामना गर्नुपर्यो । एकदिन रातभर नसुतेरै उहाले सोच्नुभयो, यो समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक यसरी नै विभेदमा बाच्नुपर्ने होत ? उहाले आफ्नो मनलाई प्रश्न गर्नुहुन्थ्यो । उहाँसँग अरु केही विकल्प बाँकी
नरहेपछि उहाले संघर्ष गरेर समाज परिवर्तन गर्छु भन्ने अठोट गर्नुभयो । उहा घर छोडेर काठमाडौं जानुभयो । काठमाडौंमा पनि उहाले काम पाउनुभएन भने धेरै ठाउँमा विभेदको सामाना गर्नुपर्यो । ‘अब म केही गर्छु अनि यो समाजको उदाहरण बन्छु भन्ने लाग्यो, अनि काठमाडौं गए, त्यहाँ पनि मैले धेरै चुनौतीहरुको सामाना गर्नुपर्यो, धेरै मानिसहरुले गलत नजरमा हेर्थे ।’
संघर्षपछि सफलताको यात्रामा
उहाले त्यसपछि भने आफुले गरिरहेको काम छोडेर एउटा संस्थामा काम गर्ने अवसर पाउनुभयो । आफुमाथी हुने व्यवहार र विभेद यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायका अरु व्यक्तीहरुमा पनि भइरहेको महसुस भएपछि सचेतनाका कार्यक्रमहरु संस्था मार्फत शुरु गर्नुभयो । आफुमाथी भएको विभेद मात्र होइन यो समुदाय हरेक व्यक्तीको अधिकारका लागि पैरवी गर्ने ठाउँमा उहाँ पुग्न सफल हुनुभएको छ । उहा लामो संघर्ष र चुनौतीको सामाना गर्दै अहिले परोपकारी संस्थाको नेतृत्व तहमा हुनुहुन्छ ।
सिम्रणले समाजवादको परिकल्पना गरिएको देशमा कसैले कसैमाथी विभेद गर्न नहुने भन्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तीहरु खुलेर अधिकार प्राप्तीका लागि आउनुपर्ने सीम्रण बताउनुहुन्छ ।
उहा मात्रै होइन, हाम्रो समाजमा रहेका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुमाथी गरिने व्यवहार र विभेदकै कारण यो समुदायका व्यक्तीहरु बहिर खुल्न सकिरहेका छैनन । जसले गर्दा यो समुदायका व्यक्तीहरु विभेदमा पर्ने मात्र होइन, अधिकार प्राप्तीबाट पनि बञ्चित भइरहेका छन । यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तीहरुलाई संबैधानिक रुपमा नै अधिकार प्रदान गरिएपनि त्यसको कार्यान्वयन हुन नसकेको अधिकारकर्मीहरु बताउछन । तर सिम्रणजस्तै अठोट गरेर अगाडी बढ्न सके पक्कैपनि यौनिक तथा लैङ्गिक अल्प संख्यक समुदायका व्यक्तीमाथी हुँदै आएको विभेद अन्त्य हुन सक्छ ।