नेपाली समाजको दिदीबहिनीहरुको अति मनपर्ने र वर्षभरीका मनका सुख, दू:ख, पिर, बेदना, विचार तथा उद्वेनगहरुलाई गीतको माध्यमबाट प्रस्तुत गर्ने चाड हो तीज । तीज पर्वलाई विशेषगरी नेपाली चेलिबेटीहरु रातो सारी लगाई छिमछिम चुरा बजाई नाचगान गरी मनाउने गर्दछन् । लामो समयसम्म घरायसी कामकाजमा व्यस्त चेलीबेटी माईत गई वर्ष दिनको पर्वमा माईतमा बुबा आमा दाजुभाई दिदीबहिनीसँग बसेर रमाइलो गर्ने, मनका बहहरु पोख्ने गर्दछन् । कतिपय दिदी बहिनीहरुको मनको पीडा भुलाउने माध्यम पनि तीज पर्व भएको छ । सानो उमेरमा अन्माएर पराई घर जाँदा पराई घरका रहनसहन संस्कृतिसँग घुलमिल भएर बस्नुपर्दा कतिपय कष्ट भएका हुन्छन् । ती कष्टलाई गीत मार्फत तीज पर्वमा चेलिबेटीले प्रस्तुतीकरण गरी नाच्ने गाउने पनि गर्दछन् । बिहेवारी गरी टाढा टाढा घरबार गरिरहेका हिन्दु नेपाली चेलिबेटीहरुका लागि तीज पर्व माईतीका बालसखाका साथीहरुसँग भेटघाट हुने एक अवसर पनि हो । उबेला बुहारीहरु सवेरै उठी ढिकी, जाँतो, दैलो, कुचो लगायत घरका विभिन्न कामहरु विहानीको समयमै गरिसक्नु पर्थ्यो । मेलापात घाँस दाउरा लगायतमा व्यस्त हुनु त महिला दिदी बहिनीहरुको दिनचर्या नै हुने गर्दथ्यो । तिनै सुख, दू:ख अनि मनका भावनाहरुलाई व्यक्त गर्न र लामो समय देखि माइत जान नपाइएको बेला तीज जब आउँछ, घाँस चर्न निस्केको दुहुनो गाई सम्साँझै पुच्छर उठाएरगोठ फर्किए जस्तै चेलीहरु माईत जान खुसी भएर आफूसँग भए नौलो र नभए त्यही पूरानो कपडालाई धोइ पखाली लगाएर माईततिर कुदेका हुन्छन् । कतिपय समयमा बिर्सिएकोसम्बन्धलाई पनि माईतीसँग जोड्न यो पर्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
धार्मिक दृष्टिकोणले यसको आफ्नै महिमा छ । तीजको अघिल्लो दिन दर खाएर भोलिपल्ट मुखमा पानी पनि नहाली ब्रत बस्ने प्रचलन छ । यसरी ब्रत बसी अविवाहित चेलिबेटीले आफ्ना मनोकांक्षा पुरा हुन् भनी बस्ने र विवाहित चेलिबेटीले पतिदेवको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्ने प्रचलन रहेको छ । यसरी कतिपय धार्मिक दृष्टिकोणमा नारीहरुको बारेमा सकारात्मक कुरा भएका छन् र नारीलाई लक्ष्मीको रुपमा मानिने, नारी घरमा भित्र्याउँदा लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता रहेको छ । नेपाली समाजको विविधतामा एकताको सन्देश फैलाउने पर्व पनि हो तीज । तीज पर्वमा हिन्दु नारीहरुको अझ छुट्टै खालको महिमा बोकेको छ । यसलाई गौरव बोकेको संस्कारको रुपमा पनि लिन सकिन्छ । तीजको महिमा जति बयान गरे पनि नसक्ने रहेको छ । प्रकृति अनुसार संस्कृति पनि उस्तै हुनाले नेपाली चाडपर्वहरु उल्लासमय हुनु त स्वभाविकै हो ।
हामी स–साना हुँदा गाउँघरमा तीजको मादल जता बज्यो उतै दौडिन्थ्यौं, रमाइलो पनको आभाष हुन्थ्यो । संस्कृति संस्कारले उल्लासमय बनाइदिन्थ्यो । घरमा पकाएकामालमुङ्गे केरा, हजारी केरा, फुस्रे केरा लगायत केराका परिकार, तामाको अचार, घ्यूभात खाएर रमाइन्थ्यो । दिदी, फुपुहरु आउँनुहुन्थ्यो, गीत गाउँनु हुन्थ्यो । हामी भने उहाँहरुका तीजका गीत सुन्दै, खेल्दै, उफ्रँदै जहाँ नाच्ने ठाउँ छ, त्यहीँ निदाउँथ्यौँ । अहिले लाग्छ, त्यो बेलाको चाड पो चाड, त्यो बेलाको पर्व पो पर्व, त्यो बेलाको तीज पो तीज । आकाशमा लाग्यो बरै गड्याङ गुडुङ्ग बादलु धर्तिमा लाग्यो बरै लेउ बरिलै…. गीत गाउँदै मादल बजाउने, तीज आयो भन्छन् सबै चेली माइत जान्छन् म अभागि चेली कस्को माइत जाम्…. भनी यस्ता गीतहरु सुनेको अहिल्यै जस्तै लाग्छ । कतिपयका घरमा चेलिबेटी नहुने भएकाले उनीहरुको घर सुनसान हुन्थ्यो । चेलिबेटी हुने घरमा रमाइलो हुन्थ्यो, चोक चौतारामा नाचगान गरी रमाइलो हुन्थ्यो ।
वास्तवमा पछिल्लो समयमा सूचना र प्रविधिको उच्चतम विकास क्रमले तीजको माहोल बढी भड्किलो, खर्चिलो र नकारात्मक दिशामा केन्द्रीत रहेको देखिन्छ । हाम्रो संस्कृतिले गति छोडी पथभ्रष्ट भई नकारात्मकताको दिशामा अगाडि बढीरहेको छ । कतिपय विकृति विसंगतिको स्वरुप पनि तीजबाट झल्किरहेका छन् । महिनौ दिन अगाडी पार्टी प्यालेसमा तीज पर्व मनाउने प्रचलन हावी भएका छन् । एक सामाजिक पर्वको रुपमा रहेको पर्वलाई देखासिकी र नसाजन्य पदार्थमा लट्ठीएर मातेका गतिविधिहरु देख्न सुन्नमा आइरहेका छन् । तीजको समयमा हिन्दु नारीहरु चलिआएको संस्कार जोगाउन भन्दा पनि विनाशको प्रवृत्ति तर्फ लागेको पाइन्छ । अहिलेको तीज भड्किलो र अनावश्यक देखासिकीले भरिएको छ । गाउँ, समाज मात्र नभएर सम्पूर्ण देश नै यो गलत गतिविधिको सिकार बनेको छ । अहिलेको टिकटकले नेपाली चेलीबेटीको मन, मष्तिस्कमा परम्परा धान्न र पचाउन नसक्ने उच्छृङ्खलता भरिदिएको देख्न सकिन्छ । अहिलेको टिकटकलाई नेपाली समाजमा सकारात्मक कुरामा भन्दा नकारात्मक कुरामा प्रयोग गरिरहेका छन् । कतिपय महिलाहरुले महिलामा हुनुपर्ने अदा, लज्जा अनि संयमतालाई बिर्सेरआधुनिकताका नाममा पार्टि प्यालेसमा जम्मा भई मासु रक्सी खाने गरेको पनि देख्न पाईन्छ । नाचगानको नाममा जथाभावी तडक, भडक र भड्किला गीत तथा नाचहरु हुने गरेका छन् । स्वतन्त्रताको नाममा दोहोरो अर्थ लाग्ने खालका गीतहरु गाउँने, समाजमा अपाच्य नृत्य प्रदर्शन गर्ने प्रवृत्तिले गर्दा अहिलेको तीजको रौनकमा नै खलल पुर्याहइदिएको छ । कतिपय गीत बाबुआमा छोराछोरीले सँगै बसेर हेर्न सुन्न लायक छैनन् । माया प्रेमका कुरा पनि तीजका गीतहरुमा समावेश गरिएको देखिँदै आएको छ ।
विकासका नाममा विकृती हुन दिनु धर्म संस्कार भुल्नु आफैमा ठूलो विडम्वना हो ।यसले समाजमा के सन्देश दिँदैछ त भन्ने कुरा हामी नेपाली जनताले बुझ्नुपर्ने र सुधार गर्नुपर्ने कुरा हो । रत्यौलीमा गाउँने गीत, के हुन्छ होला त्यो बिहेको रातीजस्ता अपाच्य गीतहरुको मागनेपालका दर्शक अनि स्रोतागणहरुमा बढिरहँदा लाग्छ कि, तीज पर्व अब तीज नरहेररत्यौलीकोभानउत्पन्न हुने देखिन्छ । तीज पर्वमा राम्रा कुरालाई अनुसरण गरी नराम्रा कुरालाई त्यागी पुन: हाम्रो नेपालको अनमोल पर्वको रुपमा मनाउन पाए हाम्रा पुर्खाहरुको सपना पनि साकार हुने थियो ।
अत:तीजबाट राम्रा कुराहरु टिपेर आफ्नो जिम्मेवारी नविर्सिएर अगाडी बढ्नु पर्दछ । नेपाल जस्तो संस्कृतिमा धनी देशमा कुनै पनि पर्व तडक भडकका साथ मनाउनु दु:खद पक्ष हो । संस्कृति भित्रका विकृतिलाई पन्छाउँदै लैजानु पर्दछ र संस्कृतिलाई आत्मसाथ गरी अगाडी बढ्नु पर्दछ । यस्ता प्रवृत्तिले गर्दा क्षणिक लाभ हुने भन्दा पनि दीर्घकालिन रुपमा असर पारेका छन् । यसरी हामीलाई पुर्खाले सुम्पिएका पर्वलाई विकृतिको स्वरुपमा लैजाँदा विसङ्गगति बढेर विविध मूल्यमान्यतामा ह्रास आउने, अनुशासन, मर्यादा, संस्कारको लोप हुने खतरा रहेको पाइन्छ ।अहिलेको यो समयमा महिला, पुरुष दुवै आ–आफ्नो काममा दिनभर व्यस्त रहेका हुन्छन् । यही व्यस्त समयलाई रमाईलो बनाउनका लागि हाम्रा चाडपर्व, रीतिसंस्कृतिहरुलाई बचाइरहनु अपरिहार्य रहेको छ । मानवमा कमी कमजोरी हुन्छन् नै, त्यस्ता कमी कमजोरीहरुलाई केलाउँदै सकारात्मक कुराहरुलाई बढावा दिने र नकारात्मक कुराहरुलाई जरैदेखि उखेल्नु पर्ने देखिन्छ । हाम्रो एक मात्रउद्देश्य भनेको मौलिकता नमेटियोस, विकृति नजन्मियोस्भन्ने हो । यस तीज पर्वको अवसरमा सबैमा सकारात्मकता मिलोस्, सम्पूर्ण नेपाली हिन्दु दिदीबहिनीहरुमा तीज पर्वको अवसरमा शुभकामना !!
"
दिपेन्द्र केशर खनाल । १४ भाद्र २०७९, मंगलवार १९:२०