वीरेन्द्रनगर डेंगु रोगको उच्च जोखिममा

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेंगुरोगको उच्च जोखिममा रहेको पाइएको छ । डेंगु रोगको खोप पनि नभएको र खास उपचार पनि नभएको हुँदा यसको नियन्त्रणको मुख्य उपाय खोज र नष्ट गर्नु नै रहेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य शाखाका अनुसार सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर उच्च जोखिममा रहेको हो । जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा १०५ जना डेंगु रोगका विरामीमध्ये वीरेन्द्रनगरका मात्रै ७५ जना रहेको बताउनुभयो । उहाँका अनुसार यो तथ्यांकबाट नै वीरेन्द्रनगर डेंगुको उच्च जोखिममा रहेको पाइएको छ ।
अघिल्लो वर्ष सुर्खेतका १२८ जनामा वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका ७९८ जनामा वीरेन्द्रनगरका मात्रै ७३९ जना डेंगुका विरामी फेला परेका थिए । वीरेन्द्रनगरका १६ वटा वडामध्ये सवैभन्दा धेरै विरामी वडा नं. ४ मा रहेका छन् । वडा नं. ४ मा १५ जना, वडा नं. ३ मा १४ जना, वडा नं. २ मा १० जना र वडा नं. ६ र ७ मा सात÷सात जना विरामी फेला परेको जानकारी गिरीले दिनुभयो । डेंगु रोग विरुद्ध खोप पनि नभ्एको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु रहेको उहाँले बताउनुभयो । डेंगु विरामीलाई अत्यधिक ज्वरो आउने भएकोले सिटामोल बाहेक अन्य औषधि प्रयोग गर्न नहुने सुझाव दिदैं उहाँले दिउँसोमात्र टोक्ने लामखुट्टेलाई नष्ट गर्नु नै उत्तम विकल्प भएको जनाउनुभयो ।
यता वीरेन्द्रनगरमा डेंगु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझाव मागेको छ । सो अवसरमा नगरपालिकालाई सरसफाईमा जोड दिन, यसबाट बच्ने उपायहरु घरघरमा पु¥याउन सुझाव दिएका छन् । लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने, पानी जम्न नदिने, सातामा दुई पटक ट्यांकीलगायतमा जमेको पानी फाल्ने, पूरा बाहुला भएको कपडा लाउने, सुत्दा झुल प्रयोग गर्न नगरबासीलाई प्रेरित गर्नुपर्ने उनीहरुको भनाइ छ । साथै यस कार्यमा नगरभित्रका सवै टोल विकास समिति, आमा समूह, विद्यालय, निजी क्षेत्रलगायत सरोकारवाला सवैलाई सचेतना जगाई परिचालन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख गणेशभक्त गौतमले डेंगु रोग नियन्त्रणका लागि जनचेतना नै उत्तम विकल्प भएको बताउनुभयो । यस्तो बेला ज्वरो बढी आउने हुँदा सिटामोल पर्याप्त रहेको जानकारी दिदैं उहाँले थप जोखिम आउन नदिन सवै क्षेत्र परिचालन हुनुपर्ने उल्लेख गर्नुभयो । वीरेन्द्रनगर नगरपालिकका उपप्रमुख निलकण्ठ खनालले टोल विकास समितिलाई व्यापक परिचालन गरी माइकिङसहित सरसफाई अभियान थालेर पानी जम्न दिन आव्हान गर्नुपर्ने बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले लामखुट्टे नियन्त्रणमा खोज र नष्ट गर्ने अभियानका साथै सवै वडामा एकै पटक सरसफाई कार्यक्रम संचालन गर्ने जनाउनुभयो ।