जुम्लामा चार वर्षमा ३५ सय टाइफाइडका विरामी

जुम्ला । जुम्लामा चार वर्षको अवधिमा तीन हजार ५ सयजना बढी टाइफाइड रोगले विरामी परेका छन् । दूषित पानी र खानेकुराबाट फैलिने टाइफाइडका बिरामी जुम्लामा बढ्दै गएको तथ्यांकले देखाएको छ ।

ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, आन्द्रामा समस्या आउने तथा समयमै उपचार नगरे ज्यानसमेत जाने टाइफाइड रोगबाट जोगाउन १५ महिनामाथि र १५ वर्ष मुनीका सबै बालबालिकालाई अनिवार्य खोपको पहुँचका ल्याइने छ।


जुम्लामा आ.व. २०७५÷७६ मा ९७८ जना, आ.व. २०७६÷७७ मा एक हजार १५८ जना, आ.व.२०७७÷७८ मा ८७९ जना र चालु आवको ८ महिनामा ५९२ जना गरी चार वर्षमा तीन हजार ५९७ जना टाइफाइडका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ।
जुम्लाका ४२ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । खोपबाट बचाउन सकिने रोगहरूलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्यअनुसार जुम्लामा बढ्दो टाइफाइड रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । उहाँले पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुराउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको जानकारी दिनुभयो ।

टाइफाइड दूषित पानी र खानेकुराबाट संक्रमण हुने रोग हो । चैत वैशाखमा धुलो धुवाँ बढ्ने, गर्मीले खानेकुरा पनि सफा नहुने भएकाले रोग फैलिने जोखिम हुन्छ । बेलैमा सचेत रहन तथा टाइफाइडबाट बालबालिकालाई खोप अभियान चलाउने तयारी गरिएको उहाँले बताउनुभयो ।
चन्दननाथका आठ हजार ५७५, कनकासुन्दरीका चार हजार २६०, गुठिचौैरका दुई हजार ७०६, तातोपानीका पाँच हजार ३६८ बालबालिकालाई खोप लगाइने छ । त्यस्तै, तिलाका पाँच हजार ९६७, पातारासीका पाँच हजार ३०४, सिञ्जाका चार हजार ७७४ र हिमाका पाँच हजार ४६६ जना गरी १५ महिनादेखि ५ वर्ष मुनीका र ५ वर्षदेखि १५ वर्ष मुनीका ४२ हजार ४२० बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने कार्यालय प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
जुम्ला प्रदेश (ख)मा चैत २५ देखि ३० र प्रदेश (क)मा २०७९ वैशाख २ देखि ७ गतेसम्म दुई चरणमा खोप अभियान सञ्चालन गरिने छ ।