सुर्खेत । क्षयरोग मुक्त नेपाल घोषणा अभियान कर्णालीका प्रदेशबाट सुरु गरिएको छ । सन् २०५० सम्म नेपाललाई क्षयरोग मुक्त गर्ने लक्ष्य अनुसार कर्णाली प्रदेशबाट यो अभियान सुरु गरिएको हो । मंगलबार कर्णाली प्रदेशका तीन स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गर्दै क्षयरोग मुक्त घोषणा गर्दै अभियान सुरु भएको हो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सुर्खेतको गुर्भाकोट नगरपालिका, सल्यानको कपुरकोट गाउँपालिका र दैलेखको दुल्लु नगरपालिकालाई क्षयरोग मुक्त घोषणा गर्दै अभियानको सुरुवात गर्नुभएको हो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले स्वास्थ्यका क्षेत्रमा कर्णालीले प्रदेशले नयाँ फड्को मारेको बताउनुभयो । ‘सरकारले कर्णाली प्रदेशबाट क्षयरोग मुक्त अभियानको सुरुवात गरेका छ’ मन्त्री खतिवडाले भन्नुभयो, ‘यो अभियानबाट कर्णाली प्रदेशले स्वास्थ्य क्षेत्रमा नयाँ फड्को मारेको छ ।’ कर्णालीलाई स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउने उद्देश्यले अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।
अभियान सुरु भएपछि कर्णालीका नागरिकको स्वास्थ्यलाई सचेतना बढ्ने, क्षयरोग संक्रमणको दर घट्ने र उपचार तथा परीक्षणमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कर्णालीबाट नेपाललाई क्षयरोग मुक्त घोषणा सुरुवात गरेकामा खुशी व्यक्त गर्नुभयो ।
मंगलबार क्षयरोग मुक्त भएका गुर्भाकोट, कपुरकोट र दुल्लुमा क्षयरोगीको संख्या शुन्य भएको भने होइन । ति स्थानीय तहमा पनि संक्रमतिको रहेका छन् । तथ्याङ्क अनुसार गुर्भाकोट नगरपालिकामा ३५ जना, कपुरकोट गाउँपालिकामा ११ जना र दुल्लु नगरपालिकामा १५ जना सक्रिय संक्रमित छन् । संक्रमति भए पनि नियमित उपचार, स्वास्थ्य परीक्षण, पोषणा आहार पर्याप्त रहेको राष्ट्रिय क्षयरोग निवारण केन्द्रले जनाएको छ ।
ति स्थानीय तहमा क्षयरोग परीक्षण तथा उपचारका लागि पर्याप्त जनशक्ति, परीक्षण तथा उपचार केन्द्र र निको हुने दर उच्च छ । यही आधारमा स्थानीय तहलाई क्षयरोग मुक्त गरिएको राष्ट्रिय क्षयरोग निवारण केन्द्रका निर्देशक डाक्टर संजयकुमार ठाकुरले जानकारी दिनुभयो ।
घोषणासँगै क्षय रोग निवारणको दायित्व प्रदेश र स्थानीय तहमा आएको उहाँले बताउनुभयो । नेपाल क्षयरोग संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनले तीन तहका सरकारले हातेमालो गरेको खण्डमा तोकिएकै समयमा नेपाललाई क्षयरोग राष्ट्र घोषणा गर्न सकिने बताउनुभयो ।
हाल नेपालमा हरेक बर्ष ४४ नागरिक क्षयरोगबाट संक्रमित हुने र सात हजार जतिले अकालमा ज्यान गुमाउने गरेको छन् । समयमै रोगको पहिचान र नियममित औषधि सेवन गर्नेमध्ये हरेक बर्ष दश हजार नागरिक संक्रमण मुक्त हुने गरेका छन् । नियमित र समयमै उपचार गरेको खण्डमा संक्रमण रोक्न सकिने उहाँले बताउनुभयो ।
त्यस्तै क्षयरोग मुक्त अभियानका संयोजक मुक्तिनाथ खनालले यो बर्ष देशभर २५ वटा स्थानीय तह क्षयरोग मुक्त हुन लागेको जानकारी दिनुभयो । क्षयरोगको उच्च जोखिममा रहेको नेपाललाई सन् २०३० सम्म आंशिक र २०५० सम्म पूर्ण रुपले क्षयरोग मुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ अभियान सुरु भएको बताउनुभयो । अन्य प्रदेशको तुलनामा क्षयरोग संक्रमण दर कर्णाली प्रदेशमा कम छ ।
संक्रमतिको संख्या घट्दै गएको कर्णालीमा चालु आर्थिक बर्षमा सातसय भन्दा बढी संक्रमित थपिएका छन् । यो बर्ष प्रदेशभर क्षयरोगीको संख्या सात सय ३९ जना रहेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ । जसमध्ये सुर्खेतमा सबैभन्दा धेरै र हुम्लामा सबै भन्दाकम संक्रमित थपिएका हुन् ।
चालु आर्थिक वर्षमा सुर्खेतमा दुई सय ८१ जना र हुम्लामा चार जना संक्रमित थपिएको प्रदेश स्वाथ्य सेवा निर्देशनालयका सूचना अधिकारी एवम् क्षयरोग फोकलपर्शन पदमबहादुर केसीले जानकारी दिनुभयो । त्यस्तै डोल्पामा २९ जना, जुम्लामा ४३ जना, कालिकोटमा ४१ जना, दैलेखमा ७९ जना, रुकुमपश्चिममा ८० जना, सल्यानमा एकसय नौं जना र मुगुमा चार १८ जना सक्रिय संक्रमित थपिएका हुन् । यद्यपी संक्रमितको संख्या भने घट्दोक्रममा छन् ।
दुइ बर्षअघि एक हजार दुइसय ३६ जना संक्रमित रहेको प्रदेशमा अघिल्लो बर्ष घटेर संक्रमतिको संख्या एक हजार एकसय ९३ जनामा झरेको थियो । चालु आर्थिक बर्षमा संक्रमितको संख्या घटेर सातसय ३९ मा झरेको छ ।
सृजना बुढाथोकी । २२ चैत्र २०७८, मंगलवार २०:३७