सुर्खेत । स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मत परिणामको प्रारम्भिक संकेतले दोहोरिन खोजेका जनप्रतिनिधिलाई मतदाताले नरुचाएको पाइएको छ ।
पालिकामा दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका अधिकांश उम्मेदवार पराजित भएका हुन् । २०७४ को निर्वाचनमा लोकप्रिय मत ल्याएर निर्वाचित भएका कतिपय पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरूले यसपटक हार बेहोर्नुपरेको हो ।
पार्टीको राम्रै जनाधार भएका ठाउँमा पनि त्यस्ता उम्मेदवारको मत निकै कमजोर देखिएको छ । हालसम्मको नतिजा हेर्दा एक कार्यकाल परीक्षण भइसकेका भन्दा नयाँ उम्मेदवारलाई मतदाताले बढी विश्वास गरेर मत दिएको पाइएको छ । केहीबाहेक धेरैजसो वडा र पालिकामा ‘टेस्टेड’ उम्मेदवारलाई मतदाताले फेरि नरोजेका हुन् ।
यसपालि सोही पदमा चुनाव लडेका दैलेखका चार पालिकाका निवर्तमान अध्यक्षहरू पराजित भएका छन् । गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र महाबु गाउँपालिकाका बहालवाला अध्यक्षले राजीनामा दिएर पुनः अध्यक्षका उम्मेदवार बनेका थिए ।
उनीहरू पहिलो पटक पालिकाको उम्मेदवार बनेकाहरूसँग पराजित हुनुपरेको हो । गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपाकुमारी बिसी नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको थियो ।
बैशाख ३०मा सम्पन्न मत गणनाको परिणामअनुसार उहाँहरू दुवै पराजित हुनुभयो । त्यहाँ ६ वडासहित पालिका प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) ले जितेको हो । अध्यक्षमा टोपबहादुर विसी र उपाध्यक्षमा सिवाकुमारी खड्का निर्वाचित हुनुभएको छ ।
आठ वटा वडा रहेको गुराँसमा यसअघि कांग्रेसको जनाधार राम्रो भएको मानिन्थ्यो । यसपटक कांग्रेसले गुराँसका दुई वटा वडामा चित्त बुझाउनु परेको हो ।
डुङ्गेश्वर गाउँपालिकामा निवर्तमान अध्यक्ष नगेन्द्रबहादुर मल्ल कांग्रेसबाट पुनः उही पदमा उम्म्मेदवार बन्नुभएको थियो तर मल्ल पनि यसपालि पराजित हुनुभयो । अघिल्लो स्थानीय तहको निर्वाचनमा लोेकप्रिय मत ल्याएर निर्वाचित भएका उहाँलाई एमालेका सुन्दरकुमार केसीले हराउनुभएको हो ।
२०७४ को निर्वाचनमा यहाँ अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए । अहिले अध्यक्ष र उपाध्ययक्षसहित बहुमत वडा एमालेले लिएको छ । उक्त पालिकाका कतिपय वडाका जनप्रतिनिधिसमेत पुनः उम्मेदवार बनेका थिए । दोरिएकामध्ये धेरै पराजित भएका हुन् ।
यस्तै, नौमुले गाउँपालिकाका निवर्तमान अध्यक्ष भदे बुढा मगर अहिले पनि अध्यक्षको उम्मेदवार बन्नुभएको थियो तर कांग्रेसबाट उम्मेदवार बनेका उहाँ यसपटक भने पराजित हुनुभयो ।
त्यहाँ नेकपा ‐माओवादी केन्द्र) का छविराम सुवेदी पालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ । नौमुलेमा माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी तालमेल थियो । दैलेखकै महाबु गाउँपालिकका निवर्तमान अध्यक्ष जंगबहादुर शाही दोस्रो कार्यकालका लागि यसपटक नेकपा ‐एकीकृत समाजवादी)बाट उम्मेदवार बन्नुभएको थियो ।
उहाँलाई कांग्रेसका लछुमन गुरुङ्गले पराजित गर्नुभएको छ । २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित शाही पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लाग्नुभएको थियो । त्यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो ।
यी केही प्रतिनिधिमूलक जनप्रतिनिधि हुन् । जसले उही पदमा दोहोरिन खोज्दा पराजय भोग्नुप¥यो । कर्णालीका ७९ स्थानीय तहमध्ये वडा र पालिकामा गरी ३० प्रतिशत हाराहारी जनप्रतिनिधि दोस्रो कार्यकालका लागि चुनावी मैदानमा रहेको आकलन छ ।
प्रदेशमा स्थानीय तहका झन्डै ४० प्रतिशत जनप्रतिनिधिले कार्यकाल नसकिँदै फेरि चुनाव लड्न राजीनामा दिएका थिए । त्यसमध्ये सबैले भने टिकट पाएनन् । प्रारम्भिक नतिजालाई आधार मान्दा दोहोरिने भन्दा पहिलो पटक उम्मेदवार बनेकाहरू नै निर्वाचित हुने सम्भावना बलियो देखिएको मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पिताम्बर ढकाल बताउँनु हुन्छ ।
यसपटकको सुरुआती परिणामबाट पालिकामा मात्र नभइ वडामा समेत दोहोरिन खोज्नेहरू धेरै पराजित भएका छन् । वीरेन्द्रनगर–१ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका गंगाराम सुनार र वीरेन्द्रनगर–१६ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार पूर्णबहादुर ढकाल पराजित हुनुभएको छ ।
उहाँ दुवै यसअघिको कार्यकालमा वडा अध्यक्ष हुनुहुन्थ्यो । वडा नं. १ मा सुनारबाहेक चार जना सदस्यमा भने एमालेले जितेको छ । त्यस्तै, वडा नं. १६ मा कांग्रेसका दुई सदस्य निर्वाचित भएका छन् ।
स्थानीय तहको निर्वाचनमा दल र अनुभवी उम्मेदवारभन्दा पनि युवा पुस्ता र नयाँ अनुहारलाई मतदाताले रोजेको देखिएको हो । सोही पदमा फेरि उम्मेदवार बनेका र एक कार्यकाल जनप्रतिनिधि भइसकेकाले मतसमेत कम ल्याउने गरेका छन् ।
अहिलेसम्मको विवरणअनुसार कर्णालीमा केही ठाउँमा भने दोस्रो कार्यकालका लागि उनै व्यक्ति पालिका प्रमुखमा निर्वाचित भएका छन् । डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही एक हजार चास सय तीन मतसहित पुनः निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायाले एक हजार तीन सय ६७ मत ल्याउनु भएको छ । त्यस्तै, डोल्पाको काइके गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा निर्विरोध भएका दुवै जना दोस्रो कार्यकालका लागि चुनिएका हुन् ।
काइके गाउँपालिका अध्यक्षमा अंगतकुमार राना र छार्काताङसोङ गाउँपालिकामा सेनाङ गुरूङ अध्यक्षमा निर्विरोध हुनुभएको हो । उहाँहरू २०७४ को स्थानीय तह चुनावमा एमालेबाट अध्यक्ष निर्वाचित हुनुभएको थियो । एमाले विभाजपछि यी दुवै एकीकृत समाजवादीमा छन् ।
सृजना बुढाथोकी । ४ जेष्ठ २०७९, बुधबार ०७:५२