फिलिपिन्समाथि नेपालको सहज जित

काठमाडौं । टि–२० विश्वकप क्वालिफायरमा नेपालले फिलिपिन्समाथि सहज जित निकालेको छ ।

कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हाँसिल गरेको हो । नेपाल १ सय ३६ रनको जित दर्ता गर्न सफल भयो ।

नेपालले दिएको २ सय १९ रनको लक्ष्य पच्छ्याएको फिलिपिन्सका लागि जोर्डन अल्गेराले अविजित २७ र ड्यानीयल स्मिथले २० रन जोडे । यस्तै जोनाथम हिलले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिनुभयो । उहाँले ४ ओभर बलिङ गर्दै जम्मा ९ रन दिनुभयो । यस्तै जितेन्द्र मुखिया, दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा गुल्सन झा र कुशल मल्लले एक एक विकेट लिए ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले आकर्षक शतक र दिपेन्द्र ऐरीले विष्फोटक अर्धशतकमा नेपालले फिलिपिन्सलाई २ सय १८ रनको विशाल लक्ष्य दिएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेपनि कुशल र दीपेन्द्रको बलियो साझेदारीले २ सय १९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालको खातामा ९ रन मात्रै हुँदा ओपनर आसिफ शेख शुन्यमा आउट हुनुभयो । तेस्रो नम्बरमा पठाइएका कुशल मल्ल पनि चल्न सक्नुभयो । १० बलमा १२ रन बनाएर मल्ल आउट भएपछि नेपालको इनिङ कुशल भुर्तेल र दिपेन्द्र ऐरीले सम्हालेका थिए ।

कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १०४ रन बनाउँदै अन्त्यसम्म अविजित रहनुभयो । यस्तै दिपेन्द्रले ४७ बलमा ८३ रन प्रहार गर्दा ४ छक्का र ६ चौका वर्षाउनुभयो । १८ औं ओभरमा दिपेन्द्र आउट भएपछि क्रिजमा आएका लोकेश बमले ३ बलमा एक छक्का प्रहार गर्न सफल हुनुभयो ।

फिलिपिन्सका लागि डेनियल स्मिथ, गुरभुपिन्दर चोहान र मिगी पोडोस्कीले १–१ विकेट लिएका थिए ।