

काठमाडौं । एपीएफ क्लबलाई पराजित गर्दै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले लिगको अन्तिम खेलमा पनि जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा एपिएफलाई २–१ गोलको नतिजामा मछिन्द्रले जित निकालेको हो ।
आर्मी दोस्रो:
लिगमा मनाङ मर्स्याङदी क्लबसँग १–१ गोलको बराबरी खेल्दै त्रिभुवन आर्मी क्लब तालिकाको दोस्रो स्थानमा रहेर सहिद स्मारक ‘ए’ डिभिजन लिग समाप्त गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा बराबरी गरेसँगै मनाङ पाँचौं स्थानमा झरेको छ । मनाङले गत सिजत तेस्रो स्थानमा रहेर लिग सकेको थियो । भने आर्मीले दोस्रो स्थानमा रहेर सकेको थियो ।
बराबरीसँगै आर्मीले लिगमा पाँच जीत ८ बराबरी सहित २३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहन सफल भएको छ । मनाङ ६ जीत, तीन बराबरी र चार हारसहित पाँचौं स्थानमा रह्यो ।
तेस्रोमा एनआरटी:
यसैगरी, नेपाल पुलिस क्लबलाई ३–१ गालको नतिजामा पराजित गर्दै न्युरोड टिम (एनआरटी) ले तेस्रो स्थानमा रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगको यो सिजन सकाएको छ ।
जितसँगै एनआरटी लिगमा ६ जित, ६ बराबरी र दुई हासँगै २३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दोस्रो स्थानको अर्मीसँग बराबरी अंक भएपनि हेड टु हेडका आधारमा एनआरटी तेस्रो भएको हो ।
पुलिसले २ जित, ६ बराबरी र ४ हारसहित १२ अंक जोडेर ११औं स्थानमा रहेर लिग सकेको छ ।
लिगको ११औं चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुुई खेल अगावै लिगको उपाधि रक्षा गरेको मछिन्द्रले २ बराबरी र ११ जित निकाल्दै ३५ अंक जोडेको छ ।
त्यस्तै, एपीएफले तीन जित, बराबरी र चार हार सहित १५ अंक जोडेर आठौं स्थानमा रहँदै लिग सकेको छ । च्याम्पियन बनेसँगै मछिन्द्रले ७५ लाख प्राप्त गरेको छ । दोस्रो स्थानको आर्मीले ५० लाख र तेस्रो भएको एनआरटीले २५ लाख प्राप्त गरेको छ ।
तालिकाको पुछारमा रहेका दुई टोली च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भइसकेका छन् ।

खबर बजार । १४ फाल्गुन २०७८, शनिबार २३:०८