काठमाडौं । त्रिदेशीय टी–२० शृङखलाको फाइनलमा नेपालले आज पपुवा न्यूगिनी विरुद्ध खेल्दैछ । अपराजित रहँदै फाइनल पुगेको नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो फाइनल खेल खेल्नेछ ।
पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालई ६ विकेटले हराएको थियो । तेस्रो खेलमा पीएनजीमाथि ३७ रनको सहज जित निकाल्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको थियो । त्यसपछि अन्तिम खेलमा पुन: मलेसियालाई ८५ रनको अन्तरले हराउन सफल भयो ।
पीएनजी भने मलेसियासँग समान एक जीत निकाल्दै नेट रन रेटका आधारमा फाइनल पुगेको थियो । पीएनजीले एक खेलमा मलेसियालई ८ विकेटले हराएको थियो ।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान सन्दीपले फाइनलमा बेस्ट क्रिकेट खेल्ने प्रतिक्रिया दिनुभएको थियो ।
‘फाइनलमा हामी हाम्रो तर् बाट बेस्ट क्रिकेट खेल्नेछौं । हामी जीतका लागि खेल्नेछौं । यो अरु खेल जस्तै हो । हामी हाम्रो योजनाअनुसार खेल्नेछौं । फाइनल खेल सबैका लागि उत्तिकै महत्वपूर्ण छ’, उहाँले भन्नुभयो ।
यसअघि युवा टोलीलाई मात्रै अवसर दिएर टिम बनाइएको थियो । जहाँ लिग चरणका खेलहरु एक्स्पेरिमेन्टको रुपमा रहेको कप्तान सन्दीप र मुख्य प्रशिक्षक पुवुदु दासानायकेले बताउनुभएको थियो । तर अब एक्स्पेरिमेन्ट सकिएको सन्दीपले बताउनुभयो ।
‘हामीले एक्सपेरिमेन्ट जति थियो पहिला नै १–२ वटा खेलमा गरिसक्यौं । फाइनल हो बेस्ट टि सँग खेल्छौं’, उहाँले भन्नुभयो । कप्तानको रुपमा पहिलो फाइनल खेलिरहेका सन्दीपले आजको खेल खेलाडी भएका कारण महत्वपूर्ण रहेको प्रतिकृया दिनुभएको छ ।
‘कप्तान भन्दा पनि खेलाडीको रुपमा यो खेल मेरो लागि महत्वपूर्ण छ । किनभने म कप्तान भए पनि, नभए पनि सुरुमा म टीमको सदस्य हो । त्यसैले यो खेल जित्दा जति खुसी अरुलाई लाग्छ त्यति नै मलाई पनि लाग्छ’, सन्दीपले भन्नुभयो ।
खबर बजार । २१ चैत्र २०७८, सोमबार १०:४३