सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वयमा मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले प्रथम काँक्रेविहार खुल्ला हाफ म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसर पारेर असार ७ गते प्रतियोगिता सञ्चालन हुने भएको हो ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालन हुने प्रतियोगितामा खुल्ला पुरुषतर्फको हाफ म्याराथनमा २१ किलोमिटर र विद्यालय स्तरको छात्रछात्रा तर्फको म्याराथनमा भने पाँच किलोमिटर दौड प्रतियोगिता हुने छ ।
दोस्रो लुम्बिनीको नामले चिनिने ऐतिहासिक तथा धार्मिक महत्वको पर्यटकीयस्थल काँक्रेविहारको नामबाट प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले वीरेन्द्रचोकबाट सुरु हुने दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न हुने र प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने बताउनुभयो ।
उपाध्यक्ष हमालका अनुसार खुल्ला पुरुषतर्फको दौडमा पहिलो हुनेलाई ७१ हजार, दोस्रोलाई ४१ हजार, तेस्रोलाई ३१ हजार, चौंथोलाई २० हजार, पाचौंलाई १५ हजार र छैठौं स्थान हासिल गर्ने खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने र्छौ भने विद्यालय स्तरको म्याराथन प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई पाँच हजार नगद पुरस्कार दिइने छ ।
यस्तै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको पूर्वतयारीमा लागि अहिले विभिन्न अभ्यास र प्रतियोगिताहरु गर्न लागिएको बताउनुभयो ।
यस्तै, आयोजकले काँक्रेविहार म्याराथन प्रतियोगितालाई आगामी बर्षहरुमा पनि निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता बनाउँने र कर्णालीमा खेलकुदको धेरै सम्भावना रहेको भन्दै यहाँका प्रतिभालाई प्रतिस्पर्धामा उतारेर कर्णालीलाई म्याराथनबाटै विश्वभर चिनाउँन लागि परेको आयोजकले दाबी गरेको छ ।
प्रतियोगिता सञ्चालनका लागि ५० जना निर्णायक रहनेछन् । प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद विकास परिषद्ले ६ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
आगामी बर्षबाट प्रतियोगिताको पुरस्कारको राशी बृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरुलाई पनि सहभागि गराउने योजना रहेको प्रतियोगिताको आयोजक संस्था मिड वेस्टर्न फिटनेस सेन्टरले जानकारी दिएको छ ।
प्रतियोगितामा एक हजार खेलाडीको सहभागिता रहनेछ ।
खबर बजार । ४ असार २०७९, शनिबार ०६:५७