‘सडकको कथा’ (भिडिओ)

सुर्खेत । सिम्ता गाउँपालिको वडा नम्बर ९ खानिखोलाकी पाते सुनार चार पाँच वर्ष पहिलासम्म पनि कतै जानुपर्ने भयो भने घण्टौँ समय लगाएर पैदल यात्रा गर्नुपर्थ्यो । तर आज उहाँ स्थानीय बजार राकमतर्फ जाँदै हुनुहुन्छ, तर पैदल होइन । गाडिमा सरर…

पहिला भारी बोकेर हिडेको बाटोमा गाडि गुड्न थालेपछि उहाँ दंग र प्रफूल्ल हुनुहुन्छ । आमासँगै गाडिमा यात्रा गर्ने स्थानीय संगीता नेपालीले मन लागेको कुरा फ्याट्ट भनिहाल्नुभयो ।

प्राकृतिक रुपमा असाध्यै सुन्दर सिम्ता गाँउपालिकामा सवारी साधन सुविधा नभएकै कारण नागरिकको जीवनस्तरमा दुर्गमको बिल्ला टाँसिदिएको थियो । पाँच्चै वर्ष अघि सम्म । कतिपय ठाउँमा सामान्य सडकको ट्रयाक त थियो, तर खाल्डाखुल्डी र असुरक्षित बाटोको कारण यातायात व्यवसायीहरु सवारीसाधन चलाउन सहज मान्दैनथे ।

सडक यातायातको राम्रो सुविधा भएपछि सिम्ताकै केहि नागरिकले गाडि खरिद गरी व्यवसायिक रुपमा संचालन समेत गरेका छन् । सिम्तामा अहिले ढुक्कले गाडि चलाउन र ढुक्कले यात्रा गर्न सकिन्छ ।

सिम्ता गाउँपालिकाले सबै वडामा पहुँच मार्ग सञ्चालनको योजना सफल गराएसँगै अहिले विभिन्न ठाउँमा जान नागरिकको समयलाई छोट्याइदिएको छ, भारी थाप्लोमा बोक्नुपर्ने दुःखलाई कम गरिदिएको छ । यतिमात्रै कहाँ हो र ? यातायातको सुविधाकै कारण गाउँमा उत्पादित बस्तुको बजारिकणमा समेत टेवा पुगेको छ ।

घरमा नुन, चामलको खरिद र घरेलु उत्पादनको विक्री गर्न उहिले उहिले नेपालगञ्ज धाउनुभएका स्थानीय अमृतबहादुर अधिकारीले यति छिटो सिम्ताका गाँउगाँउमा बाटो पुग्ला भनेर कल्पना समेत गर्नुहुन्थेन ।

सिम्तामा पहिले ९ वटा वडामध्ये वडा नम्बर ४, ५, ६ र ७ मा सामान्य सडक थियो । हाल सबै वडामा सबै महिना गाडि चल्नेगरी सहज पहुँच मार्ग पुगेको छ । यो सबै सम्भव गाउँपालिकामा जनप्रतिनिधिसहितको शासन सञ्चालन भएपछिको परिणाम हो भन्दा फरक पर्दैन । किनभने, गाउँपालिकाको पहिलो सभाबाट नै पाँच वर्षमा गरिने तीनवटा लक्ष्य निर्धारण भएको थियो । जसमा पहुँच मार्ग पहिलो नम्बरमा राखियो र त्यसैअनुसार काम हुँदै गयो ।

शहिद ऋषि स्मृति चक्रपथ र शहिद इन्द्र वि.सी दुर्तमार्गले सिम्ताका सवै वडाहरुमा पहुँच पुर्‍याएको छ । अन्य सहायक सडकहरुसमेत निर्माण भएका छन् । गाउँगाउँमा आऊ–जाऊ गर्न, सामान ओसार–पसार गर्न मात्रै नभई पहुँच मार्गले रोजगारीहरु पनि सिर्जना गरेको छ ।

हेर्नुहोस् भिडिओः