गुराँस फूल्यो वनैमा… (फोटो, भिडियो)

सुर्खेत । ‘गुराँसै फूल्यो वनैमा, मेरो मन झुल्यो तिम्रो मनैमा…’ कलाकार एड्रिन प्रधानको यो गीतले भनेजस्तै अहिले पहाडका विभिन्न जंगलमा ढकमक्क लालिगुराँस फुलेका छन् र ती राता गुराँससँगै फोटो खिच्ने र गुराँससँगै रमाउने मौसम हो यो ।

गुराँस गाउँपालिका ५ दैलेख । तस्बिरः खबरबजार

कर्णाली प्रदेशका विभिन्न जिल्लास्थित पहाडी क्षेत्रमा राष्ट्रिय फूल लालिगुराँस फूल्न थालेका छन् । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुमपश्चिमलगायत जिल्लाका पहाडी क्षेत्रमा पाखा पखेराहरु अहिले रातै देखिन थालेका हुन् ।

अहिले नियमित कामबाट फुर्सद निकाल्नासाथ पहाडि जंगलतर्फ गुराँस हेर्न जानेको लर्को लागेको देख्न सकिन्छ । कोहि फोटो खिचिरहेको त कोहि टिकटक बनाइरहेका ! सविन राइले गाएको गीत जस्तै ‘गुराँसको फेदमुनी सम्झनाको छायाँ, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै मायाँ…’

वीरेन्द्रनगर नगरपालिका १५ सुर्खेत । तस्बिरः खबरबजार

लगभग ५ देखि १० सेन्टिमीटर सम्म लामो पात, झ्याम्म रुख र रातै-रातै फूलहरु । लालिगुराँस हेर्न कर्णाली प्रदेशको राजधानी तथा लुम्बिनी प्रदेशका बाँके बर्दियाबाट समेत अहिले वीरेन्द्रनगर नगरपालिकाका केहि वडा, चिङ्गाड गाउँपालिका, सिम्ता गाउँपालिका र लेखवेसी नगरपालिकाका विभिन्न वडा सँगै दैलेखको गुराँस गाउँपालिका सम्म गुराँस हेर्न पर्यटकहरु पुग्ने गरेका छन् ।

गुराँस गाउँपालिका वडानम्बर ८ दैलेख । तस्बिरः खबरबजार

‘म त लालिगुराँस भएँछु । वनैभरी फूलिदिन्छु-मनैभरी फूलिदिन्छु ।’ स्वरसम्राट गायक स्व. नारायण गोपाल गुर्वाचार्यको यो गीत जस्तै गुराँससँगै रमाउँदा फूलजस्तै प्रफुल्ल नबन्ने मन कस्को पो होला र !

खासगरी सुर्खेत र दैलेखका सडकखण्ड छेउछाउँमा समेत लालिगुराँस अवलोकन गर्दै यात्रा गर्न सकिन्छ । लालिगुराँस हेर्न पुग्नेहरुले आन्तरिक पर्यटनलाई सघाऊ पुर्‍याएको र आउने पर्यटकले स्थानीय कृषि उत्पादन समेत किन्ने भएकाले आफूहरु खुसी भएको गुराँस गाउँपालिकाका कृषकहरुको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिका १५ सुर्खेत । तस्बिरः खबरबजार

तर गुराँस अवलोकन गर्न पुग्नेहरुले गुराँसका हाँगा भाँच्ने र क्षति पुर्‍याउने गरेका छन् । गुराँस हेरेर मनोरञ्जन लिनुपर्ने तर क्षति पुर्‍याउने काम नगर्न वन तथा वातावरणको क्षेत्रमा क्रियाशिल निकायले भन्ने गरेका छन् । महाकवि लक्ष्मिप्रसाद देवकोटाको कवितामा लेखिएअनुसार ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ । नच्यात्नु फूल नानि हो, दया र धर्म भाग्दछ ।’

वीरेन्द्रनगर नगरपालिका १५ सुर्खेत । तस्बिरः खबरबजार

के हो गुराँस ?

लालिगुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ । लालिगुराँस साधारणतया माघको अन्तिम हप्तादेखि चैत महिनाको मध्यसम्म देख्न पाइन्छ । तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिनामा पनि फूलेको देखिन्छ । औसतमा अरु फूलहरूभन्दा केही ठूलो हुने भएकाले पनि यो फरक छ । यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ । नेपालमा गुराँसको सर्वत बन्दछ । घाँटीमा खानेकुरा वा अरु केही चीज अड्किएको बेलामा लालिगुराँस खाँदा खड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ ।

हेर्नुहोस् छोटो भिडियोः