काँग्रेस संसदीय दलको नेता भीष्म, प्रमुख सचेतकमा बासना

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन हुनुभएको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेतामा निर्विरोध चयन गरेको हो ।

लामो रस्साकस्सीपछि कांग्रेसले संसदीय दलको नेता चयन गरेको हो । यसअघि आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई निर्विरोध संसदीय दलको नेता बनाउने विषयमा सहमति जुटाएको थियो ।

संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गरेपछि सहमति जुट्न सकेको थिएन ।

पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको कार्यसम्पादन समिति बैठकमा सभापति गगनकुमार थापाको प्रस्तावमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद आङ्देम्बेलाई संसदीय दलको नेता बनाउन प्रस्ताव भएको थियो ।

यसैगरी, प्रमुख सचेतकमा बासना थापा, सचेतकमा निश्कल राई छनोट  हुनुभएको छ ।