f एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर ३ बल अगावै ११३ रनमा अलआउट भयो ।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाएपनि जित दिलाउन सक्नुभएन । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन बनाउनुभयो । जिम्मी निशम १५, मायन यादव १४, तृतराज दास एक, अनिलकुमार शाह ११, कुशल परेवा ६ र आदित्य मेहता कुनै पनि रन नजोडी आउट भए । ललित राजवंशी एक रनमा आउट हुँदा राहुल यादव एक रनमा अविजित रहनुभयो ।

बलिङमा कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान ३ विकेट लिए । युनिसले ४ ओभरमा एक मेडनसहित ३ विकेट लिनुभएको हो । उहाँले एकै ओभरमा जनकपुरका कप्तान हर्मीत र जिमीलाई आउट गर्दै खेल कर्णालीको पकडमा ल्याउनुभएको हो । नन्दन यादवले दुई र कप्तान सोमपाल कामीले एक-एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो । कर्णालीका ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाउनुभएको थियोे । उहाँले २९ बलमा ४ चौका प्रहार गर्नुभयो ।

कर्णालीले सुरुवातबाटै विकेट गुमाउन पुग्यो । पहिलो ओभरको अन्तिम बलमा कर्णालीका ओपनर मार्क वाट एक रन जोडेर पभेलियन फर्किनुभयो । ४ रनमा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दो दोस्रो विकेट गुमाउन पुग्यो ।

जनकपुरका आइकोनिक प्लेयर राहुल यादवले पहिलो बलमै विकेट लिँदै दीपक डुम्रेलाई १३ रनमा आउट गराउनुभयो । कर्णालीले ३७ रन जोड्दा तेस्रो विकेट गुमायो । हुसेन तलत ३ रन जोडेर आउट हुनुभयो । त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले कर्णालीको ब्याटिङ उकास्ने प्रयास गरे । उनीहरुले चौथो विकेटका लागि ४२ रनको साझेदारी गरे । अरिफुल २९ बलमा ४३ र पवन ३७ बलमा ३७ रन बनाएर आउट भए । त्यसपछि अक्बर अली एक, कप्तान सोमपाल कामी एक र गुल्सन झाले १२ रन बनाए । नन्दन यादव ९ रनमा आउट हुँदा युवराज खत्री र युनिश ठकुरी अविजित रहे ।

बलिङमा जनकपुरका कप्तान हर्मीत सिंहले ३ विकेट लिनुभयो । मोइन अली र राहुल यादवले दुई-दुई र ललित राजवंशीले एक विकेट लिए । एनपीएलमा मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच साँझ ५ बजे हुनेछ ।