पाँच लाख घुससहित कर अधिकृत रंगेहात पक्राऊ

सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई ५ लाख रूपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राऊ गरिएको छ ।

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाललाई कार्यालय परिसरमै रंगेहात नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट प्रक्रिया अगाडि बढाइदिन ५ लाख रूपैयाँ मागेका पाइएको छ ।

आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई पनि मिलाउनुपर्ने भन्दै घुस मागेको पालमाथि आरोप छ । रकम नदिएसम्म अडिट प्रक्रिया अघि नबढ्ने बताएपछि कम्पनीबाट आवश्यक कागजातसमेत संकलन गरिएको स्रोतले जनाएको छ ।

कम्पनीका प्रतिनिधिलाई बुधबार दिउँसो १ बजेदेखि २ बजेसम्म कुराइए पनि रकम नबुझेक‍ो र साँझ ६:५६ बजे पालले फोन गरी आफू गोलबजार क्षेत्रमा रहेको जानकारी दिएका बताइएको छ । त्यसपछि पालले भोलिपल्ट बिहान ९ देखि १० बजेको बीचमा भेट्ने भन्दै एक बिचौलियाको सम्पर्क नम्बर पठाएका थिए ।

बिचौलियाले आफू बाहिर रहेको भन्दै आफ्ना भाइमार्फत रकम बुझाउन प्रस्ताव गरे पनि अन्ततः पालले रकम कार्यालयमै ल्याउन आज निर्देशन दिएका थिए । सोही क्रममा अख्तियारको टोलीले उनलाई रकम लिँदै गर्दा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले कर अधिकृत पालमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।