
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गएका नेताहरुले गठन गरेको नयाँ पार्टी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिनु भएको छ ।
उहाँले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर रिट दिनु भएको हो ।
यादवले नयाँ दल दर्ता अवैधानिक रहेको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश पनि माग गर्न भएको छ ।
नयाँ दल दर्ताका लागि राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीमा केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत सदस्यको समर्थन चाहिनेमा संघीय संसदको ४० प्रतिशत सदस्य पुगे पनि केन्द्रीय समितिका ४० प्रतिशतले नयाँ दललाई समर्थन नगरेको यादवको जिकिर छ ।
‘म निवेदक अध्यक्ष रहेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिमा कुल ४०६ सदस्य रही रहेको र विपक्षी आयोगले नै सो संख्यालाई मान्यता दिएको अवस्थासमेत रहीरहेको अवस्थामा ४०६ सदस्यको ४० प्रतिशतले हुन आउने सदस्य संख्या अर्थात् १६३ जना केन्द्रीय समितिको अनिवार्य संलग्नता हुनुपर्दछ । जुन नभएको कारणबाट पनि गैरकानुनी रहेको छ’, रिटमा भनिएको छ ।
दल विभाजन गर्दा केन्द्रीय दलको संसदको ४० प्रतिशत र केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको अनिवार्य हस्ताक्षरमा सम्पूर्ण सदस्य निर्वाचन आयोगमा उपस्थित भई दाबी गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कुनै पनि इकाइ वा निकायको निर्णयबिना ३३ जनाको हस्ताक्षर पेश गरेर दल दर्ताको दाबी गरिएको रिटमा उल्लेख छ । त्यसैले जसपा नेपाल विभाजन गरी जसपा गठनको दाबी प्रथम दष्टिमै खारेज गर्नुपर्ने यादवको दाबी छ ।
यादवले जनता समाजवादी पार्टी नामक दल दर्ता भएको सूचना राजपत्रमा प्रकाशन गर्ने गरी भएको निर्णय बदर गर्न, नयाँ दल गठन गर्नेहरुको हस्ताक्षर सनाखत प्रक्रिया यथास्थितिमा राख्न र दल विभाजन गरेर जानेहरुलाई संघीय संसदको हैसियतले कुनै पनि काम गर्न नदिन पनि आदेश माग गनर्् भएको छ ।




खबर बजार । ३१ बैशाख २०८१, सोमबार १६:५६