
काठमाडौं । नेपालमा स्क्रब टाइफसको संक्रमण डरलाग्दो रूपमा वृद्धि हुन थालेको छ । आर्थिक वर्ष २०७९/८० मा ९,२४३ रहेको संक्रमितको संख्या आ.व. २०८१/८२ मा २५,४९४ पुगेको छ भने, आ. व.२०८२/८३ पनि अघिल्लो वर्षभन्दा बढि संक्रमित रहेका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

देशभर पनि स्क्रब टाइफसको संक्रमण बढिरहेको अवस्थामा पछिल्लो पटक विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी देखिएको छ ।
स्क्रब टाइफस एक प्रकारको संक्रामक रोग हो, जुन ओरिएन्टिया त्सुत्सुगामुशी नामक जीवाणुबाट हुन्छ । यो रोग संक्रमित चिगरको लार्भाले टोकेपछि मानिसमा सर्छ । नेपालमा विशेषगरी वर्षायाम र वर्षापछिको समयमा यो रोग बढी देखिने गर्छ ।
अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा जोर्नी दुख्ने, अत्यधिक थकान लाग्ने, खोकी लाग्ने वा सास फेर्न गाह्रो हुने, वाकवाकी वा बान्ता हुने, घाँटी वा काखीका लिम्फ नोड सुन्निने, टोकेको ठाउँमा कालो घाउ जस्तो दाग देखिने लक्षण देखिएमा स्क्रब टाइफस भएको हुन सक्छ ।
स्वास्थ्यकर्मीहरुका अनुसार झाडी, घाँसे मैदान, खेतबारी वा वन क्षेत्रमा पाइने संक्रमित चिगरको लार्भाले टोकेपछि सर्छ ।
स्वास्थ्यकर्मीहरुले विशेषगरी किसान, वन क्षेत्रमा काम गर्ने व्यक्ति, झाडी तथा घाँसे क्षेत्रमा धेरै समय बिताउने व्यक्ति, बाहिरी गतिविधिमा संलग्न व्यक्ति उच्च सतर्क रहनुपर्ने सुझाव दिएका छन् ।
यसको उपचार ढिलो भएमा फोक्सो, मिर्गौला, मस्तिष्क लगायतका अंगमा गम्भीर असर पर्न सक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

यसैबीच, सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु भएको छ ।
सल्यानको दार्मा, कुमाख र बागचौर गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप बढेको छ । पछिल्लो दुई महिनामा दार्मा र बागचौरमा मात्र ३३५ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ ।
परीक्षण गरिएकामध्ये ३५ प्रतिशतमा रोग देखिएकाले वास्तविक संक्रमितको संख्या सरकारी तथ्यांकभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ ।
परीक्षण किटको अभावमा समयमै रोग पहिचान गर्न नसक्दा बिरामीहरू थप जोखिममा परेका छन् ।
स्थानीय तहले रोग नियन्त्रण र परीक्षणका लागि आवश्यक सहयोग माग गर्दै संघीय सरकारलाई पत्राचार गरेको महिना दिन बितिसक्दा पनि कुनै ठोस सुनुवाइ भएको छैन ।




खबर बजार । ८ आश्विन २०८३, बिहीबार ०७:००