
काठमाडौं । कर्णाली र सुदूरपश्चिमको पहाडी भेगबाहेक देशका अरु ठाउँमा निरन्तर झरी परिरहेको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण अस्ति बुधबार बेलुकीदेखि नै झरी शुरु भएको हो ।

आज र भोलि हावाहुरी र चट्याङसहित ठूलो पानी पर्ने र पर्सि आइतबारदेखि मात्रै वर्षा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । निरन्तर झरी परिरहे पनि अहिले बिहानसम्म कुनै पनि नदी, खोलामा ठूलो बाढी आएको छैन । तर पानीको बहाव बढ्न थालेको छ ।
आज र भोलि जोखिम बढी रहेकाले विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ । महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मधेश प्रदेशको एक/दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अरु ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
आज र भोलि ठूलो पानी पर्ने भएकाले सरकारले त्यसैअनुसार पूर्वतयारी र उच्च सतर्कता अपनाएकाे जनाएको छ । धेरै विद्यालयले आज बिदा दिएका छन् । मुख्य राजमार्गमा रातको समयमा गाडी चलाउन रोक लगाइएको छ । नदी खोला किनारका बस्तीमा निरन्तर निगरानी भैरहेको सरकारी निकायले जनाएका छन् ।
मौसमविदहरुले विशेषगरी आज र भोलि लामोदूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम भएको ठाउँमा विशेष चनाखो हुन अनुरोध गरेका छन् ।




खबर बजार । ९ आश्विन २०८३, शुक्रबार ०८:५३