सन्दीप लामिछानेले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाउनु भएको छ ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिनु भयो ।

जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उहाँलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो ।

५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित भनिएकी (गौशला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् ।

२० असोजमा पक्राउ परेका लामिछानेलाई जिल्लाले पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत, पाटनले २९ पुषमा २० लाख धरौटीमा छाड्यो ।

त्यसबेला उच्चले विदेश जान रोक लगाएको थियो, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेको थियो ।

जिल्ला अदालतले १३ पुस २०८० मा सन्दीपलाई दोषी ठहर गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडितको दाजुले दिएको जाहेरी दर्खास्त, सन्दिप लामिछानेको बयान, विभिन्न व्यक्तिहरुको घटना विवरण कागज, निजहरुको बकपत्र लगायत सीसीटीभी फुटेजबाट सन्दीप दोषी देखिएको निष्कर्ष निकालेको थियो ।

न्यायाधीश ढकालले पीडितलाई नाबालिका भन्न नमिल्ने ठहरसहित सन्दीपलाई ८ वर्ष जेल सजाय सुनायो ।

पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश भएको थियो ।

त्यसविरुद्ध सन्दीपले हालेको पुनरावेदनमा उच्च अदालतले उहाँलाई सफाई दिएको छ ।