सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु

सुर्खेत । सवारी दुर्घटनामा परी कालीकोटका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ । ‎

गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते हुनु भएको थियो ।

उहाँलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । उहाँको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आचार्य कालिकोटको रेडियो तिला आवाजका सञ्चालक तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष हुनुहुन्छ ।

वीरेन्द्रनगरको मूलपानी चोकबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएको र शाहीको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।