नेकपाको भागबण्डा नमिलेपछि कर्णालीमा मन्त्रीपरिषद् विस्तार अन्योल

केन्द्रले मिलाउनुपर्ने अवस्था सिर्जना 

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो दलभित्र भागबन्डा मिलाउन नसक्दा प्रदेश सरकारको मन्त्रीपरिषद् विस्तारमा विलम्ब भएको छ । मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रीपरिषद्मा तीन जना मन्त्री नियुक्त हुन बाँकी छ ।

नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीको साझेदारीमा गठन भएको नयाँ प्रदेश सरकारमा एमालेको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा जुम्लाका टेकराज पछाईँ, सामाजिक विकास मन्त्रीमा मुगुका जीतबहादुर मल्ल र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा हुम्लाका कलबहादुर हमाल नियुक्त भइसकेका छन् ।

यसअघि एमालेसँग भागबन्डाको कुरा नमिलेका कारण मन्त्रिपरिषद् विस्तारमा समस्या भएको भनिएकोमा स्वयं मुख्यमन्त्रीकै दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको स्पष्ट भएको छ । मुख्यमन्त्री शाहीले एक महिनासम्म पनि सरकारलाई पूर्णता दिन सक्नुभएको छैन ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)भित्र गुटबन्दी सुरु भएको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीको अगुवाइमा ६ जना सांसदले मुख्यमन्त्री मंगलबहादुर शाहीविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । सोही पत्रका कारण सोमबार बिहान ११ बजेका लागि प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ कार्यक्रम रोकिएको मुख्यमन्त्री निकट स्रोतको दाबी छ ।

मुख्यमन्त्री शाहीले आफ्नो दलको भागमा परेका ३ वटा मन्त्रालयका लागि विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्कालाई मन्त्री बनाउन खोज्नुभएको थियोे । सोही अनुसार, उहाँले सोमबार बिहान प्रदेश प्रमुखको कार्यालयमा फोन गरी समय माग्नुभएको थियोे । तर, पछि एक्कासि उहाँ आफैँ प्रदेश प्रमुखको कार्यालय पुगेर शपथ कार्यक्रम स्थगन गर्न आग्रह गर्नुभयो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले शपथ कार्यक्रम तोकिसकेपछि अन्तिममा आएर रोक्दा बाहिर राम्रो सन्देश नजाने सुझाव दिनुभएको बताइएको छ ।

नेकपाकै सचेतकको अगुवाइमा ६ जना सांसदले पार्टी केन्द्रीय कार्यालयमा बुझाएपछि शपथ रोकिएको मुख्यमन्त्री निकट स्रोतको भनाइ छ । पत्रमाथि छलफल गर्नुपर्ने भनेर हेडक्वार्टरबाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले फोन गरेपछि मुख्यमन्त्री शाहीले शपथ रोकेका हुन् ।

मोर्चाबन्दी गरेर केन्द्रमा पत्र बुझाउने कार्यमा नेकपा प्रमुख सचेतक जिसी, कल्याणी खड्का, दुर्गबहादुर रावत, भीमप्रकाश शर्मा, रणसिं परियार सहभागी छन् । यस्तै, उपसभामुख यशोदा कुमारी न्यौपाने पनि यो कार्यमा सहभागी बनेपछि पार्टीभित्र झमेला देखिएको छ ।

६ जनामध्ये सचेतक जिसी यसअघि राजकुमार शर्मा नेतृत्वको सरकारमा कानुनमन्त्री र भीमप्रकाश शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री बन्नुभएको थियोे ।

यस्तै, यामलाल कँडेल नेतृत्वको सरकारमा दुर्गबहादुर रावत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र रणसिं परियार जलस्रोत तथा ऊर्जामन्त्री बन्नुभएको थियोे ।

कल्याणी खड्का पनि प्रदेश मामिला समितिको सभापति हुनुहुन्छ । सचेतक जिसी, खड्का र उपसभामुख न्यौपाने अहिले पनि सरकारी सुविधा पाउने पदमै हुनुहुन्छ ।

अन्य प्रदेशमा यसअघि मन्त्री भएकाहरू दोहोरिएपछि पुनः आफू मन्त्री बन्नुपर्छ भनेर यी सांसद कस्सिएर लागेको स्रोत बताउँछ ।

यही कचिङ्गलका बिच मुख्यमन्त्री नियुक्त भएको एक महिनासम्म सरकार अपूरै छ । अहिले मुख्यमन्त्री शाहीमाथि आफ्नै दल मिलाउन नसकेको भन्दै आलोचना सुरु भएको छ । अब तीन जना मन्त्रीको टुङ्गो केन्द्रबाटै प्रचण्ड—माधवले लगाउने प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीले बताउनुभएको छ ।