
काठमाडौं । नेपाली काँग्रेसले भोलिदेखि ‘हामी तयार छौँ’ अभियान शुरू गर्ने भएको छ । पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित अभियान सुरु गर्न लागिएको काँग्रेसले जनाएको छ ।

कांग्रेस गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीका कमीकमजोरी सच्याउँदै सशक्त रूपमा उभिन र सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न योजना बनाउन ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।
हल्ला र कानेखुसीले पार्टी कमजोर हुने भएकाले त्यसतर्फ नलाग्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै महामन्त्री पौडेलले पार्टीलाई सशक्त बनाउन आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।
कार्यविभाजन नभएका नेताहरूलाई भूमिका दिने सन्दर्भमा पार्टीले फराकिलो दायरा निर्माण गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
महामन्त्री पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको जानकारी दिनुभयो । मङ्सिर महिनाभित्रै जिल्ला र प्रदेश अधिवेशनका साथै स्थानीय तह निर्वाचनको तयारीलाई व्यापक बनाइने उल्लेख गर्दै उहाँले शीघ्र अभियानको खाकासहितको सर्कुलर प्रदेश र जिल्ला तहमा पठाइने बताउनुभयो ।




