गुराँसलाई चलचित्र छायांकनको उपयुुक्त गन्तव्य बनाइने

दैलेख । नेपाली चलचित्रहरूको छायांकन गर्ने उपयुुक्त गन्तव्यको रूपमा दैलेखको गुराँस गाउँपालिकालाई समावेश गरिने भएको छ ।

नेपाली चलचित्र क्षेत्रका अगुवाहरूले गुराँसका पर्यटकीय क्षेत्रहरूमा चलचित्र छायांकन गर्न आफूहरू इच्छुक रहेको बताएका हुन् ।

चलचित्र क्षेत्रको आधिकारिक सरकारी संयन्त्र नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष तथा अभिनेता भुवन केसी, चलचित्र निर्माता, निर्देशक तथा अभिनेता आकाश अधिकारी, मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार एवं सर्जक डा. महेन्द्रकुमार मल्ललगायतले यस्तो बताएका हुन् ।

गुराँस गाउँपालिका–८ र ६ तथा वीरेन्द्रनगर नगरपालिका–१६ को सिमाना भ्यूचुलामा आयोजित गुराँस संवाद तथा चलचित्र पर्यटन अन्तर्क्रिरयामा अभिनेता केसीले गुराँसको प्राकृतिक हिसावले मनोरम वातावरण नै चलचित्र क्षेत्रको लागि महत्त्वपूर्ण हुने बताउनुभयो ।

उहाँले गुराँसको कलासंस्कृती र रहनसहन समेत चलचित्रको लागि अर्को महत्त्वपूर्ण रहेको बताउनुभएको छ । अभिनेता केसीले यसको लागि नेपाल चलचित्र विकास बोर्डले भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो ।

कार्यकारी अध्यक्ष केसीलाई गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले गुराँसलाई चलचित्र छायांकनको गन्तव्य बनाउन प्रस्ताव प्रस्तुत गर्नुभएको छ । यसको लागि पालिका सरकार सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।

यसैगरी, निर्माता, निर्देशक तथा अभिनेता अधिकारीले गुराँस गाउँपालिका ’भर्जिन ल्याण्ड’ रहेको भन्दै पर्यावरण संरक्षण गर्न सकेमा सयौँ वर्षसम्म चलचित्र पर्यटनको सम्भावना रहेको बताउनुभयो ।

चलचित्र छायांकन गन्तव्य बनाउन तीनवटै तहका सरकारहरूको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाई छ ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार एवं स्रष्टा डा. मल्लले आफ्ना गीति कोशेलीमा गुराँस क्षेत्र देखाएको कुरा उल्लेख गर्दै सो कुरा धेरै दर्शकले मन पराएको बताउनुभयो ।

सामाजिक कार्यकर्ता चक्रबहादुर चन्दले सहजीकरण गरेको अन्तर्क्रिरयामा पालिका सरकारका प्रवक्ता एवं गुराँस–८ का वडा अध्यक्ष दीपेन्द्र ओली, गुराँस–६ का वडा अध्यक्ष चन्द्रबहादुर राना, गाउँकार्यपालिका सदस्य पम्फी बिक, निमित्त प्रमुख प्रशासकीय अधिकृत मदनप्रकाश मल्ल, गाउँसभा सदस्यहरू महेश खत्री, लक्ष्मी बिकलगायतको पनि उपस्थिति थियो ।