
काठमाडौं । संसद् छलेर अध्यादेशबाट देश चलाउन खोजेको भन्दै आलोचना भइरहेको बेला सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको छ ।

प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पठाएको हो ।
यससँगै राष्ट्रपति समक्ष सिफारिश भएका अध्यादेशको संख्या ५ पुगेको छ । यसअघि अस्ति सोमवार राति सरकारले सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।
एकपटक आह्वान गरिसकेको संसद् अधिवेशन स्थगित गर्न लगाएर अध्यादेशबाट देश चलाउन लागेको भन्दै सरकारको विरोध भइरहेको छ ।
वैशाख ८ गते मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो र सोही सिफारिसअनुसार वैशाख ९ गते राष्ट्रपति ज्युले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको थियो ।
तर, संसद् आह्वान गरिएको भोलिपल्टै वैशाख १० गते सरकारले पुनः अधिवेशन स्थगनका लागि सिफारिस गर्यो र विशेष कारण देखाउँदै अधिवेशन स्थगित गरियो ।
संसद् सञ्चालनमा रहेको अवस्थामा अध्यादेश ल्याउन नपाइने संवैधानिक व्यवस्थाबीच, अधिवेशन आह्वान गरेको २४ घण्टा नबित्दै संसद् स्थगित गरी अध्यादेशको बाटो रोजिनु विधिको शासन र लोकतान्त्रिक अभ्यासप्रति गम्भीर प्रश्न उठेको छ ।
संसद् भित्र पर्याप्त बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत निर्णय अघि बढाउने प्रयासले, संवैधानिक परिषद् पूर्णता पाएपछि सर्वोच्च अदालतमा रिक्त प्रधान न्यायधिस आफ्नै अनुकूल नियुक्त गर्ने उद्देश्य त राखिएको होइन भन्ने आशंका उठेको छ।
अघिल्ला सरकारले यस्तै प्रकृतिको अध्यादेश ल्याउँदा रा स्व पा लगायतका दलहरूले चर्को विरोध गरेका थिए ।




खबर बजार । १६ बैशाख २०८३, बुधबार १७:१४