भन्सार दर बढाएपछि सुनको भाउमा नयाँ रेकर्ड

काठमाण्डौ । सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । आज सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

हिजो सुनको भाउ तोलाको १ लाख ४० हजार ५ सय रुपैयाँ रहेको थियो । यसअघि जेठ ७ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो । आज त्यो रेकर्ड तोडिएको छ । बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

त्यस्तै चाँदीको भाउ भने आज २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोला १ हजार ९ सय रुपैयाँ रहेको थियो ।