नेपालगञ्ज बन्यो बालविवाह मुक्त घोषणा

बाँके । नेपालगञ्ज उप–महानगरपालिकालाई सोमवार बालविवाह मुक्त घोषणा गरिएको छ । उप–महानगरपालिकाका आयोजित कार्यक्रममा घोषणा गर्न बाँकी रहेका १२ वडालाई वालविवाहमुक्त वडा घोषणा गर्दै समग्रमा उपमहानगरपालिकालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

सोमबार वडा नम्बर ५, ६, ७, ८, १३, १४, १५, १६, १७, १९, २२ र २३ नम्बर वडालाई वालविवाहमुक्त वडा घोषणा गरिएको हो । नगरका २३ वडालाई नै वालविवाहमुक्त वडा घोषणा गरिएपछि उप–महानगरपालिकालाई नै वाल विवाहमुक्त पालिका घोषणा गरिएको हो ।

घोषणासभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले फागुनभित्रै जिल्लालाई वाल विवाहमुक्त जिल्ला घोषणा गर्न लागिएको जानकारी दिनुभएको छ । उहाँले फागुनभित्रै वाल विवाह मुक्त घोषणा गर्ने नेपालगञ्ज उपमहानगरपालिकालाई १० लाख पुरस्कार प्रदान गरिने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले चुनौतीका बीच वाल विवाहमुक्त घोषणा गर्न सकिएको बताउनुभएको छ । उहाँले घोषणा कार्यान्वयनका लागि सबै नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

घोषणा कार्यक्रममा उपमहानगरपालिकाका वडास्थित जनप्रतिनिधिहरु प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतको पनि उपस्थिति थियो । घोषणाअघि गरिएको सर्भेक्षणमा नेपालगञ्जमा ५.७७ प्रतिशत मात्रै वालविवाह भएको पाइएको छ ।