वीरेन्द्रनगर नगरपालिका बन्यो कोरोना विरुद्धको पूर्ण खोपयूक्त नगरपालिका

सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई कोरोना विरुद्धको पूर्ण खोपयूक्त नगरपालिका घोषणा गरिएको छ । लक्षित जनसंख्याभन्दा बढीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाएपछि वीरेन्द्रनगर कर्णालीकै पहिलो खोपयूक्त स्थानीय तह बनेको हो ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) विरुद्धको पूर्ण खोप वीरेन्द्रनगरका शत् प्रतिशत नागरिकले लगाएका छन् । ९९ हजार नौ सय पाँच जनालाई कोभिड विरुद्धको पूर्ण खोप दिने लक्ष्य राखेको नगरपालिकाले चैत २३ गतेसम्म एक लाख १८ हजार नौ सय ४६ जनालाई पूर्ण खोप दिएको छ । जुन नगरपालिकाको लक्ष्य सतप्रतिश रहेकोमा लक्ष्यभन्दा थप १९ प्रतिशतले बढीले खोप लगाएका छन् । १६ वटा वडा रहेको वीरेन्द्रनगरमा सबै वडामा अनिवार्य खोप कार्यक्रम सञ्चालन भएको नगरपालिकाले जनाएको छ ।

प्रदेश राजधानीको नगरपालिका वीरेन्द्रगर रहेकाले वीरेन्द्रनगरमा जनघनत्व धेरै छ । राजधानी भएकै कारण पनि बाह्य जिल्लाका नागरिकको बसोबास पनि धेरै छ । खोप अभियानमा यी नागरिक समेत समेटिएको वीरेन्द्रनगर नगरपालिकाका जनश्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीले जानकारी दिनुभयो ।

कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका बेला संक्रमित हुने संख्याको आधारमा वीरेन्द्रनगरलाई रेडजोनमा राखिएको थियो । कोरोनाको तीनै लहरका कारण वीरेन्द्रनगर नगरपालिकाभित्र करिव साढे पाँच हजार नागरिक कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट संक्रमित बनेका थिए ।

हाल वीरेन्द्रनगरमा संक्रिय संक्रमितको संख्या शून्य छ । वीरेन्द्रनगरमा कोरोना संक्रमितको उपचार तथा रेखदेखका लागि नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालसहित १९ वटा स्वास्थ्य संस्थाहरु छन् । नगरपालिकाले यी १९ वटै संस्थाहरुबाट खोप सेवा सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगरको हकमा कोभिडको पूर्ण खोप लगाउनेमा पुरुषभन्दा महिलाको संख्या धेरै छ ।

पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ नगरका २९ हजार घरधुरीमा स्वंयसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरेर खोप अभियान सञ्चालन गरिएको निरीक्षक गिरीले बताउनुभयो । ‘लक्षित जनसंख्यालाई खोप लगाईसकेपछि पनि हामीले नगरका १६ वटै वडाका प्रत्येक नागरिको घरदैलोमा स्वास्थ्य स्वंयमसेविका परिचालन गरी खोप लगाउन बाँकी रहेका नगारिकको तथ्याङ्क लियौं र उहाँहरुलाई तोकिएको स्वास्थ्य संस्थामा बोलाएर खोप लगायौं,’ गिरीले भन्नुभयो, ‘त्यसपछि पनि पुनः स्वस्थ्यकर्मी नै पठाएर खोप पाए÷नपाएको यकिन तथ्यांक संकलन गरेका थियौं । तथ्यांकले सबै नागरीकले खोप पाएको देखाएपछि पूर्ण खोपयूक्त नगर घोषणा गर्न सफल भएका हौं ।’

नगरभित्रका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट अहिले पनि खोप अभियान नियमित चलिरहेको गिरीले उल्लेख गर्नुभयो । वीरेन्द्रनगरलाई पहिलो पटक कोभिडको पूर्ण खोपयूक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि एतिहासिक दिन भएको सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बताउनुभयो ।

‘आगामी दिनहरुमा कर्णालीका बाँकी ७८ वटै पालिका नागरिकहरुलाई कोरोना खोपको पहुँचमा पु¥याई पूर्ण खोपयुक्त पालिका घोषणामा खोप अभियानलाई प्रभावकारी रुपमा व्यापक बनाउन निर्देशन दिइसकेका छौं,’ मन्त्री बुढाक्षेत्रीले भन्नुभयो । मन्त्रालयले पूर्ण खोपयूक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलव्ध गराइ सकेको उहाँले जानकारी दिनुभयो ।

नागरीकप्रति राज्यको दायित्व पूरा गर्नमा पालिकाहरु कटिवद्ध हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । खोपयूक्त नगर घोषणाका लागि नगरका शत प्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डअनुसार लक्षित समुदायका नागरिकलाई खोप उपलब्ध गराएर खोपयुक्त नगरपालिका घोषणा गर्न सफल भएको नगर प्रमुख देवकुमार सुवेदीले बताउनुभयो । तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढि नागरिकलाई खोप लगाइएको सुवेदीले जानकारी दिनुभयो ।

‘खोपयूक्त नगर घोषणा ग¥यौं भन्दैमा खोप अभियान स्थगित नै गरिएको भने हैन,’ नगर प्रमुख सुवेदीले भन्नुभयो, ‘घोषणाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले नगरलाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो । खोप लगाउन छुटेका नागरिकहरुलाई खोप लगाउने अभियान भने निरन्तर जारी नै रहन्छ । खोप लिन छुटेका नागरीकले नजिकको पाएक पर्ने स्वास्थ्य संस्थामा गएर कोरोनाको खोप लगाउन उहाँको आग्रह छ ।