सुर्खेत । कर्णालीमा सडक दुर्घटना बढ्दै गएको पाइएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८÷७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत बढी सवारी दुर्घटना भएको जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए । आव २०७६÷७७ मा २३६, २०७७÷७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको थिए । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले कर्णालीमा हुने दुर्घटना न्युनिकरण गर्न ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जिल्लाका १६ स्थानमा कन्भेक्स मिरर जडान गरेको बताए । यात्रामा हुदा आउने गम्भिर मोडहरुमा अर्को साइडबाट आएको गाडि नदेखिने भएकोले पनि दुर्घटना बढि हुने भएकाले कन्भेक्स मिररले यसलाई सहज बनाउने उनले बताए । ‘पहिलो चरणमा हर्रे देखी बड्डीचौर र सुर्खेतका विभिन्न ठाउँ हुदै छेडा सम्म जडान गरिएको छ’, उनले भने, ‘सार्प बेण्डमा अर्को पट्टिबाट आएको सावरी साधनहरु कन्भेक्स मिररमा देखिन्छ जो सजिलै आखाले देखिदैन’ ।
ट्राफिक प्रहरीले कर्णाली प्रदेशलाई सडक सुरक्षाका दृष्टिले सुरक्षित क्षेत्र बनाउन प्रदेश, जिल्ला र पालिकास्तरीय सडक सुरक्षा सम्मेलनमार्फत कार्ययोजना तयार पार्ने र लागू गर्ने योजना बनाएको छ । सडक डिभिजनहरुसँग मिलेर ट्राफिक प्रहरीले धेरै कामहरु गरेको जानकारी दिदै केही पाईपलाईनमा भएका र केही नयाँ योजनाहरु पनि बनाइएको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए । नयाँ योजना अन्तर्गत चेक प्वाईण्टहरुलाई आधुनिकीकरण गर्ने, ४ लेन सडकमा फुटपाथ बनाउने, क्रयास व्यारियरहरु राख्ने, क्याट आई राख्ने, रोड मार्किङ, जेब्रा क्रसिङ मार्किङ गर्ने लगायतका कामहरु पनि क्रमश गर्दै जाने प्रहरी उपरीक्षक तिवारीले बताएका छन् । जसले गर्दा दुर्घटनामा कमी आउने प्रहरीको विश्वास छ ।
सेल्फ एक्सप्लेनिङ्ग एण्ड फर्गिभिङ्ग रोडको अवधारणामा आफुहरुले काम गरिरहेको पनि तिवारीले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा सडक दुर्घटनाबाट हुने मृ्त्युलाई आधामा सीमित गर्ने आफ्नो लक्ष्य रहेको पनि प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए ।
सुर्खेतको बाङ्गेसिमल देखि दैलेखको दही खोला सम्मको कर्णाली राजमार्ग, छिन्चु हर्रे देखि जाजरकोटको छेडा सम्मको सडक खण्ड तथा सुर्खेत कपासे देखि दैलेख सदरमुकाम सम्मको सडक खण्डमा सडक सुरक्षाको लागी आवश्यक पर्ने ट्राफिक सचेतनात्मक चिन्हहरु कुन स्थानहरुमा राख्न उपयुक्त हुन्छ भनेर सडक डिभिजन कार्यालय सुर्खेतको प्राविधिक समुह सहितको टोली संग संयुक्त स्थलगत अनुगमन गरिएको ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जानकारी दिएको छ । अहिले विरेन्द्रनगर नगरपालिकाको मुलराजमार्गमा सडक संकेतहरु राख्ने, सडक मारकिङ्ग गर्ने कार्य सडक डिभिजन कार्यालय सुर्खेतबाट भई रहेको पनि कार्यालयले बताएको छ ।
आव २०७६÷७७ मा २३६, २०७७÷७८ मा २९१ सवारी दुर्घटना भएका थिए। पछिल्ला तीन आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन’ गरिएकाले केही कमी देखिएको बताए।
प्रदेश ट्राफिक प्रहरी अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार आव २०७६÷७७ मा ९७, आव २०७७÷७८ मा ९८ र आव २०७८÷७९ मा १९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाए भने ७०० भन्दा बढी घाइते भए । जिल्लागत रुपमा सबैभन्दा बढी दुर्घटना सुर्खेतमा भएका छन् । गत वर्षको तथ्याङ्कलाई आधार मान्दा कूल दुर्घटनाको ४६ प्रतिशत दुर्घटना सुर्खेतमा भएका छन् । सल्यानमा ५५, दैलेखमा ४४, रुकुम पश्चिममा ३५, जाजरकोटमा २५, जुम्लामा २३, कालीकोटमा १७, मुगुमा सात, डोल्पामा छ र हुम्लामा तीन सडक दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । ट्राफिक प्रहरीको त्रिवर्षीय विश्लेषणले सडक दुर्घटना हुनुमा पहिलो कारण तीव्र गति र दोस्रो यान्त्रिक कारण रहेको औँल्याएको छ ।
"
सृजना बुढाथोकी । ८ भाद्र २०७९, बुधबार १२:४२