

दैलेख । दैलेख गुराँस गाउँपालिका वडा नम्बर ६ की वृद्धि विकको परिवार आर्थिक रुपले कमजोर छ । विकका ६ भाईबहिनी छोराछोरी छन । उनिहरुलाई खाना लगाउन, शिक्षा दिक्षा दिन हम्य हम्य भइरहेको थियो । विकका ठुला छोराछोरी त बिवाह गरेर आफ्नो पेश व्यवसायमा लागि सके । तर पछिल्ला दुई भाईबिहीनी सानै कक्षा पढ्दै छन । उनिहरुलाई खाना लगाउन र शिक्षा, दिक्षा दिन जेनतेनले भइरहेको थियो । तर वृद्धिले आफ्नो श्रीमान गुमाउनुभयो । श्रीमान गुमाएपछि उहाको आर्थिक अवस्था झनै कमजोर भयो । कमाई गरिदिने मानिस नै नभएपछि उहाले छोराछोरीको लालन पालन र शिक्षा, दिक्षा कसरी दिने भन्ने चिन्तामा हुनुभयो । पढ्दै गरेका छोराछोरीलाई विद्यालय छुटाउन पनि भएन उहा भन्नुहुन्छ, “उनिहरुको लागि लाग्ने खर्च मसँग भएन, कापी किताब र ड्रेस किन्ने पैसा समेत मसँग थिएन । अनि म निरास थिए, अब पढाउन सक्दीन की भनेर छोराछोरीलाई विद्यालय पठाउन छोड्छु भन्ने निर्णयमा पुगे ।”
त्यतीबेला उहाँको छोरा डम्बर विकले कक्षा ५ मा पढ्दै हुनुहुन्थ्यो । अनि उहाँको छोरालाई वडा सरकारले बनाएको बाल संरक्षण कोषबाट सहयोग मिल्यो । छोराको लागि शैक्षिक सामग्रीसँगै विद्यालय ड्रेस र केही रकम सहयोग पाएपछि छोराको पढाई नरोकिने भयो भन्ने उहाको मनमा आशा पलायो । बाल कोष मार्फत उहाको छोरा डम्बरले दुई बर्ष अगाडीदेखि शैक्षिक सहयोग पाइरहनुभएको छ । अब भने छोराको पढाई रोकिन्न की भन्ने आश पलाएको वृदि बताउनुहुन्छ । मत अब घर खर्च धान्न सकिन्न भनेर हारथाक भएको थिए, चिन्तै चिन्ता थियो, वृदि भन्नुहुन्छ, “अब भने मेरो छोराछोरीको पढाई रोकिन्न होला । म वडा सरकार र सोसेकलाई धन्यवाद दिन्छु ।”
उहाजस्तै सोही ठाउँकी सरस्वती हुन्चिङ मगरका बुवा आमा छैनन । उहा आफ्नो मामा घरमा बस्दै आउनुभएको छ । सरस्वती अहिल तिन कक्षामा पढ्छिन । उनको पनि समस्या त्यस्तै थियो । त्यही बाल कोषबाट उनले पनि कापि किताब अनि ड्रेस सहयोग पाउनुभयो । यस्तै सहयोग आगामी दिनमा पनि पाए भान्जीलाई पढाउन सहज हुने उहाकी माइजु सारदा पुन मगर बताउनुहुन्छ ।
२०७५ सालमा पूर्व वडा अध्यक्ष हिम बहादुर ओलीको पहलमा स्थापना भएको उक्त बाल कोषबाट डम्बर र सरस्वती मात्रै होइन वडा नम्बर ६ का २४ जना विभिन्न जोखिम तथा गरिबीको रेखामुनी रहेका बालबालिकाले शिक्षा, स्वास्थ्य लगायतमा सहयोग पाउँदै आएका छन । वडा नम्बर ६ मा रहेको बाल संरक्षण कोष प्रभावकारी बन्दै गएको हो ।
जोखिम तथा गरिबीको रेखामुनी रहेका परिवारका बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्ने उद्देश्यले स्थापना भएको कोष प्रभावकारी बन्दै गएको हो ।
वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष हिम बहादुर ओली भन्नुहुन्छ, यो कोषलाई व्यापक बनाउन हामीले शुरु गर्यौ मैले मेरो एक महिनाको सेवा सुविधाबाट शुरु गरेको कोषमा गाउँका अन्य व्यक्तीहरुले पनि सहयोग गर्नुभयो । त्यसमा सेभ द चिल्ड्रेन, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले पनि सहयोग गर्न थाले ।
बालबालिको क्षेत्रमा काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले पनि २०७५ साल यता एक ९२ हजार रकम उक्त कोषमा जम्मा गरिदिएको र बार्षिक रुपमा जोखिम, असाय बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गर्दै आएको लाखभन्दा धेरै रकम कोषमा जम्मा गरिदिएको संस्थाका बाल संरक्षण संयोजक निर्मल अधिकारीले बताउनुभयो ।
कोषमा जम्मा भएको रकम अहिले सहकारीले चलाइरहेको छ । स्थानीय नवयुग सहकारी संस्थामा जम्मा भएको रकमलाई सहकारीले १२ प्रतिशत व्याज दिने गरेको छ । उक्त व्याजबाट आउने रकम असाय र जोखिम बालबालिकाको शिक्षा, स्वास्थ्यमा खर्च गर्ने गरिन्छ । कोषमा अहिले १ लाख ४० हजार जम्मा भएको छ ।
कोष स्थापना पछि गुराँस गाउँ कार्यपालिकाबाट निर्णय नै भएर त्यसलाई अझै प्रभावकारी बनाउने निर्णय यसअघि नै भइसकेको भन्दै वडा अध्यक्ष चन्द्र बहादुर रानाले बाल कोषलाई व्यवस्थित गर्न कार्यविधि बनाउने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाले कोही पनि बालबालिका शिक्षा, स्वास्थ्यबाट वञ्चित हुन नदिने अठोट रहेको भन्दै कोषको आकार ठुलो बनाउन सहयोगी निकायहरुसँग पनि समन्वय गरिने बताउनुभयो ।

टेकराज के. सी. । २७ कार्तिक २०७९, आईतवार १०:५१