घरमाथिबाट पहिरो खसेपछि १३ घरधुरी स्थानान्तरण

बाजुरा । बडिमालिका नगरपालिका-०९ सेलागाडमा अविरल वर्षासँगै आएको पहिरोका कारण जोखिममा परेपछि १३ घरधुरीलाई स्थानान्तरण गरिएको छ ।

आज बिहान करिब ४:३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली घटनास्थल पुगी प्रभावित १३ घरधुरीको घरपरिवारका सदस्य, अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा अन्य सर-सामान सुरक्षित स्थानमा सारेर उद्धार गरिएको छ ।

प्रभावित १३ घरधुरीमा ८३ जना परिवारका सदस्य बसोबास गर्दै आएका छन् । जोखिममा रहेका बस्तीका स्थानीय प्रेम थापाकी ३० वर्षीया श्रीमती पार्वती थापा बेहोस भएकोमा उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आई डिस्चार्ज गरिएको छ ।

पहिरोका कारण बडिमालिका नगरपालिका-८ राप्कास्थित टोट्के सिँचाइ नहरमा समेत क्षति पुगेको छ । पहिरोले २०० एमएमको करिब २३० मिटर प्लास्टिक पाइप तथा २५ मिटर पक्की नहर समेत बगाएको छ ।

 प्रभावित क्षेत्रमा थप निगरानी तथा आवश्यक सतर्कता अपनाइएको छ ।