बाँके । सामुदायिक रेडियोहरु लोकतन्त्रको रक्षा तथा विकास र समृद्धिको साझेदारको भूमिकामा रहेका सरोकारवालाले बताएका छन् । सामुदायिक रेडियोहरुको छाता संगठन, सामुदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराब) को २२औं स्थापना दिवसको अवसरमा आयोजित सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा सहभागिहरुले यस्तो बताएका हुन् ।
सुचना र चेतनाको लागि नेपालमा सामुदायिक रेडियोहरुको विकल्प नरहेको बताउँदै सरोकारवालाले नागरिक र सरकारलाई जोड्न माध्यम नै रेडियो बनिरहेको दाबी गरिएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले सामुदायिक रेडियोमैत्री कानुन निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सङ्कटका समयमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री बडूले उनीहरूको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो । मन्त्री बडूले अभिव्यक्ति स्वतन्त्रताको अभियानमा देशभरि ३ सयभन्दा बढी सामुदायिक रेडियो जोडिएकोमा खुसी व्यक्त गर्नुभयो ।
जनताको वलिदानीबाट प्राप्त संविधान खतरामा परेपछि त्यसको रक्षाका लागि काँग्रेस सरकारमा पुगेको दावी गर्दै उहाँले संविधानको सर्वोच्चता स्थापित गर्दै कानुनी राज्य कायम गर्नका लागि आफूहरू प्रतिपक्षबाट सत्तामा जानु परेको बताउनुभयो ।
यसैगरी नेकपा (एमाले) का प्रभावशाली युवा नेता एवं केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन निर्धारित समयमै सम्पन्न गर्ने वातावरणको लागि दबाव दिन रेडियो सञ्चालकहरुलाई आग्रह गर्नुभयो ।
राजनीतिक लोकतन्त्रमात्रै नभई जनताको आधारभूत आवश्यकता, सुचना, सञ्चार र चेतना निर्माणको लोकतन्त्रमा सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाई छ ।
उद्घाटन समारोहमा लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी समितिका सदस्य केशव झाले सामुदायिक रेडियोहरु नै लोकतान्त्रिक व्यवस्थाको पहरेदार रहेकाले सबै तहका सरकारहरु सामुदायिक रेडियोमैत्री कानून निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।
आज सम्मेलन सम्पन्न गर्ने भोली आफ्नो १६ औं वार्षिक साधारण सभा हुने अकोराबले जनाएको छ ।
अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।
साधारण सभा र राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधिहरु नेपालगञ्जमा भेला भएका छन् ।सामुदायिक रेडियोहरुको हक, हित र अधिकारका लागि २०५७ चैत ९ गते अकोराब स्थापना गरिएको थियो ।
खबर बजार । ९ चैत्र २०७८, बुधबार १२:२७