f दुई प्रदेशमा वर्षा रोकियो, पश्चिममा दिनभर पानी पर्ने

दुई प्रदेशमा वर्षा रोकियो, पश्चिममा दिनभर पानी पर्ने

काठमाडौं । पूर्वी नेपालबाट वर्षा रोकिन थालेको छ । कोशी प्रदेश र मधेस प्रदेशमा वर्षा रोकिएको हो भने बाँकी ५ प्रदेशमा आज पनि सानो-ठूलो वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले देशका सबैजसो क्षेत्रमा भोलिदेखि मात्रै मौसम क्रमशः सुधार हुने जानकारी दिनुभएको छ । विभिन्न नदी तथा खोलामा जलसतह बढेकाले आज दिनभर नै सावधानी अपनाउन महाशाखाको आग्रह छ । बङ्गालको खाडीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा पानी परेको हो ।

निरन्तरजसो पानी परेपछि जनजीवन प्रभावित भएको छ । केहि मुख्य सडक अवरुद्ध नै छन् । मौसमविद्का अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर बन्दै गएको छ । कोशीबाट बाहिरिइसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी, मधेस र बागमतीमा भने कुनै जोखिम छैन । त्यस्तै पश्चिमका गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिममा आज पनि पानी पर्नेछ ।

आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, बाग्मतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्नेछ । चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सिसम्म पूर्ण रुपमा खुल्ने अनुमान छ ।

मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसमका जानकार उज्ज्वल उपाध्यायले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा छैन ।

यद्यपि मनसुनी प्रणाली देशैभरी अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ । अबको ८/१० घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ ।