f प्रतिनिधि सभा र ४ संसदीय समितिका बैठक बस्दै

प्रतिनिधि सभा र ४ संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

यस्तै, बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव गर्नुहुने छ ।

त्यसै गरी, आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।