लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई मिल्यो विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत पाउनु भएको छ । ८६ सदस्यीय प्रदेश सभामा उहाँले ४८ मत पाउनु भएको हो ।

मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको मत पाउनु भएको हो ।

मुख्यमन्त्रीले राखेको प्रस्तावको विपक्षमा कांग्रेस र जनमत पार्टीको २८ मत परेको छ । शुक्रबारको लुम्बिनी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको थियो भने लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् अनुपस्थित थिए । दुवै पार्टीसँग ३, ३ जना सांसद रहेका छन् ।

महरा चैत २३ गते प्रदेश प्रमुख अमिक शेरचनद्वारा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।