
काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा एमाले पनि औपचारिक रूपमा बाहिरिएको छ ।

एमाले महासचिव शङ्कर पोखरेलले कार्यदलका संयोजक असिम शाहलाई पत्र लेखेर पार्टी प्रतिनिधि भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी दिनुभएको हो । अधिकारी शुरूदेखि नै कार्यदलको बैठकमा सहभागी बन्नुभएको थिएन ।
पत्रमा कार्यदलको उद्देश्य संविधानका आधारभूत विषय नै खल्बल्याउने रहेको देखिएको तर सरकारबाट स्पष्ट जवाफ नआएको उल्लेख छ ।
यसअघि नेकपा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी ४ वटा दल बाहिरिइसकेका थिए । नेपाली कांग्रेसले शुरूदेखि नै कार्यदलमा प्रतिनिधि पठाएको थिएन । श्रम संस्कृति पार्टीका प्रतिनिधिले पनि अबदेखि बैठकमा नबोलाउन भनेको बताएका छन् ।
अब कार्यदलमा सत्तापक्ष रास्वपा र एउटा विपक्षी दल राप्रपाका प्रतिनिधि मात्र बाँकी रहेका छन् । बाहिरिएका दलहरूले संविधानको प्रस्तावना र आधारभूत मूल्य–मान्यता नछुने प्रतिबद्धता खोज्दै सर्वदलीय छलफलको माग गरेका छन् ।
सरकारले रास्वपाको चुनावी वाचापत्रमा उल्लेख भएबमोजिम संविधान संशोधनबारे बहसपत्र बनाउन कार्यदल गठन गरेको थियो । कार्यदलले शुरूमा २ महिना र पछि थपिएको १ महिना गरी ३ महिनाको कार्यावधि पाएको छ । थपिएको म्याद यही असार मसान्तमा सकिँदैछ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएकाे र चाँडै प्रधानमन्त्री बालेन शाहसमक्ष पेश गर्ने तयारी रहेको बताएको छ ।




खबर बजार । २५ असार २०८३, बिहीबार १७:२०