अन्ततः एमालेविरुद्ध गठबन्धन बन्ने निश्चित, आवश्यकताअनुसार तालमेल गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समितिको बैठकले गठबन्धनमा जाने नीतिगत निर्णय सर्वसम्मत रुपमा भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो । नीतिगत निर्णयलाई केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाएर कार्यान्वयनमा लैजाने उहाँले जानकारी दिनुभयो ।

गत शुक्रबारदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक मंगलबार सकिएको छ । पार्टीको अनुसासन र संसदीय समिति भने पछि बनाइने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट फर्किएपछि थप छलफल गरेर समिति बनाउने प्रवक्ता महतले बताउनु भयो ।

गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्र देखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिनु भयो ।