एमाले दैलेखको विवादः प्रदेश इन्चार्ज कँडेलले छलफल गर्दै

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखको नेतृत्व चयनका लागि भएको मतदानमा ३१ मत फर्जी भेटिएको विषयमा बुझ्न स्थायी कमिटी सदस्य एबम कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल दैलेख पुग्नुभएको छ ।

कँडेलले आजै सबै पक्ष सँग छलफल गर्ने कार्यक्रम तय भएको छ । दैलेखमा ७ सय २१ मतदाता रहेकोमा ७ सय १७ मत खसेको भए पनि मतगणनाको क्रममा खोलेर हेर्दा ७ सय ४८ भेटिएपछि बिबाद भएको छ ।

एमाले दैलेखको जिल्ला अध्यक्षका लागि निवर्तमान अध्यक्ष रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा नन्दकिशोर बस्नेत सर्वसम्मत भए पनि सचिवमा रुद्रबहादुर शाही र तिलक रिजाल, उपसचिव (पुरुष) मा प्रेमबहादुर खड्का, गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, झविराज खत्री र विष्णुबहादुर शाहीले प्रतिस्पर्धा गरेका छन् । उपसचिव (महिला) मा भने कलावति न्यौपाने र लक्ष्मी कुमारी कार्की निर्वाचनमा होमिएका छन् ।