काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति लगायतका विषयमा छलफल गर्न उच्चस्तरीय समन्वय समितिको बैठक बिहिबार पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे बैठक बस्ने भएको हो ।
यसअघि गत मंगलबार पनि समितिको बैठक बसेको भए पनि बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अनुपस्थित भएकाले थप गृहकार्य गरेर बिहीबार बैठक बस्ने सहमति भएको थियो । सहमति अनुसार नेताहरु आज अपराह्न पनि बैठक बस्न लागेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको छ । आजको बैठकमा वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तहको निर्वाचन गर्ने प्रस्तावबारे छलफल हुने र सरकारलाई निर्वाचन मितिबारे सुझाव दिने अनुमान छ ।
निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार आगामी वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने सुझाव सरकारलाई दिएको छ । तर सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन ।
खबर बजार । ६ माघ २०७८, बिहीबार ०४:३४