राष्ट्रिय सभा चुनाव: टुंगियो गठबन्धनको भागबण्डा

काठमाडौं । राष्ट्रिय सभा चुनावको भागबण्डा टुंग्याउन बसेको आज बिहान बसेको गठबन्धन बैठक सकिएको छ । बैठकपछि कांग्रेस नेता रमेश लेखकले भागबण्डा टुंगिएको बताउनु भयो ।

लेखकका अनुसार कांग्रेसले १०, माओवादीले ६, नेकपा एसले २ र जसपाले १ सिट पाउने गरी भागबण्डा भएको हो । उहाँले क्लस्टरका बारेमा पनि धेरै ठाउँमा टुंगो लागिसकेको बताउनु भयो ।

तर, नेकपा एकीकृत समाजवादी भने यो भागबण्डाबाट सन्तुष्ट छैन । तीन सिट मागेको एसलाई २ सिट मात्रै दिने भनिएपछि अध्यक्ष माधव नेपाल बैठक सकिनुअघि नै उठेर हिँड्नु भएको थियो । नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले अहिले सहमति भनिएको कुरामा आफूहरूको सहमति नरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी आफ्नो अडानमै छौँ । सहमति भएको छैन,’ ।