काठमाडौं । मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको आँकलन गरिएको छ । दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिनभर नै मौसम प्रतिकूल हुने महाशाखाले आँकलन गरेको छ । वर्षा र हिमपातको कारण चिसो झनै बढेको छ ।
कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायतका जिल्लामा हिमपात भएको छ ।
बिहीबार भने मौसममा केही सुधार आउने अपेक्षा गरिएको छ । यद्यपि थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
शुक्रबार मुलुकका एक वा दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । फोटो: दिलमाया शाही (जुम्ला)
खबर बजार । १४ पुष २०७८, बुधबार ०२:०९