अबको मौसम कस्तो ? कहिले होला सुधार ? पढ्नुहोस्

सुर्खेत । आज शुक्रबार पनि देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

पश्चिम नेपालबाट प्रवेश गरेको मौसमी प्रणालीको प्रभावले पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ ।

अस्ति बुधबारदेखि पश्चिमी वायुको प्रभाव बढेसँगै वर्षा र हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

मौसमविद्हरूले यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन अनुरोध गरका छन् ।

भोलि शनिबार पनि गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साथै पहाडी तथा तराईका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

पर्सि आइतबार पश्चिमी वायुको प्रभाव कम हुने र मौसम क्रमिक रुपमा सुधार आउनेछ ।