
काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिनुभएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर १३६ रन बनाउँदै पूरा गरेको हो ।

लिगमा ६ खेल खेल्दा तेस्रो जित हात पारेको विराटनगरले ६ अंक जोडेर चौथो स्थानमा उक्लिँदै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ । विराटनगरले लिगको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ ।
अर्कोतर्फ पोखराका लागि भने छैटौँ खेलमा यो पाँचौँ हार हो । २ अंकसहित पुछारमा रहेको पोखरा लिगको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
विराटनगरका लागि बसिर अहमदले संयमित ब्याटिङ गर्दै ३७ रन बनाउनुभयो । ३९ बल खेल्नुभएका उहाँले समान २ चौका र २ छक्का प्रहार गर्नुभयो । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन जोड्नुभयो ।
आठौँ नम्बरमा ब्याटिङ गर्नुभएका इसुरु उडानाले १२ बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा अविजित २५ रनको योगदान दिनुभयो । उहाँले नै विजयी चौका प्रहार गर्नुभएको थियो ।
यस्तै, सातौँ नम्बरमा ब्याटिङ गर्नुभएका शेहान जयासूर्याले १४ बल खेल्दै २ चौकाको मद्दतमा अविजित १७ रन बनाउनुभयो ।
ओपनर इमरान शेख १० र एन्जेलो म्याथ्युज ८ रन बनाएर आउट हुनुभयो भने चरिथ असलंका र प्रतिश जिसीले खाता खोल्न सक्नुभएन ।
बलिङमा पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिनुभयो ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ओपनर युवराज सिंह सम्राले ८४ रन बनाउनुभए पनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा अलआउट भएको थियो ।
पोखराका लागि युवराजले आक्रामक ब्याटिङ गर्नुभए पनि अन्य ब्याटरले राम्रो साथ दिन सक्नुभएन । सम्राले ४७ बल खेल्दै ७ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८४ रन बनाउनुभयो ।
सम्रासहित धनन्जय लक्षणले २२ र सन्नी विकले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सक्नुभएन ।
७६–५ को स्थितिबाट युवराज र धनन्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गर्दै पोखराको इनिङ्स सम्हाल्नुभएको थियो । धनन्जयले १५ बल खेल्दै १ चौका र १ छक्का प्रहार गर्नुभयो । सन्नीले ११ बलमा १ छक्काको मद्दतमा १२ रन जोड्नुभयो । अर्जुन कुमाल १, अर्जुन घर्ती ५ र बिपिन खत्री ५ रनमा आउट हुनुभयो ।
पोखराका कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्नाले खातासमेत खोल्न सक्नुभएन । सागर ढकाल १ रनमा अविजित रहनुभयो ।
पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिनुभयो । उहाँले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिनुभएको हो ।
उहाँले १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिनुभयो । सन्दीप एनपीएलमा ह्याट्रिक विकेट लिने तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि काठमान्डु गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिनुभएको थियो ।
सन्दीपले यसअघि ५ खेलमा १ विकेट मात्र लिनुभएको थियो भने आज एकै खेलमा ६ विकेट लिनुभएको छ ।
उहाँ एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडी बन्नुभएको छ । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिनुभएको थियो । एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले १–१ विकेट लिनुभयो ।




