राष्ट्रपति सीसँगको भेटमा उठ्यो लिपुलेकको मुद्दा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारत र चीनका विदेशमन्त्रीस्तरीय बैठकबाट गरिएको लिपुलेकबाट व्यापार सम्झौताबारे चीनका राष्ट्रपतिसँग असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

शनिबार भएको दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलको वार्तामा प्रधानमन्त्रीले राष्ट्रपति सी जिनफिङसमक्ष लिपुलेक नेपालको भूभाग भएको विषय चीनले बुझ्नुपर्ने बताउनु भएको परराष्ट्र मन्त्रालयका सचिव अमृतवहादुर राईले बताउनु भएको हो ।

सचिव अमृतवहादुर राईका अनुसार प्रधानमन्त्रीले ऐतिहासिक दस्तावेजहरु र हाम्रा सन्धि सम्झौताले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भएको राष्ट्रपतिलाई स्मरण गराउनु भएको हो । उहाँले देश भूगोल र जनसंख्याले सानो ठूलो भए पनि सार्वभौमिकताको हिसाबले सबै समान हुने बताउनु भएको छ ।

प्रतिनिधि मण्डलका एक सहभागीका अनुसर–प्रधानमन्त्रीले वान टु वानमा होइन हामीसहितको भेटवार्तामा लिपुलेकमा भारत र चीनले गरेको सम्झौताबारे बलियो अडान राख्नुभयो । यताबाट जाँदा दुईजना नेताको भेटमा यो कुरा राख्ने भन्ने थियो तर प्रधानमन्त्रीले प्रतिनिधिमण्डलकै वार्तामा उठाउनुभयो । उहाँले नेपालको संवेदनशीलता चीनले बुझोस् भन्ने आशयबाट बोल्दा सीले टाउको हल्लाएको पनि बताउनु भयो ।

नेपाललाई जानकारी नदिई र नेपालको सहमति नलिई दुई देशले व्यापार नाका खोल्नेगरी भएको सम्झौताप्रति प्रधानमन्त्रीले प्रष्ट शब्दमा आपत्ति जनाउनु भएको थियो । ओलीले नेपालको संवेदनशीलता बुझेर चीनले यस विषयमा सघाउने अपेक्षा समेत व्यक्त गर्नु भएको सहभागीले बताउनु भयो ।