
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लगानी बोर्डमा प्रस्तावित सार्वजनिक–निजी साझेदारी मोडेलका सम्भव सबै परियोजना अघि बढाउन निर्देशन दिनुभएको छ ।
अर्थ मन्त्रालयमा भएको सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐेन २०७५ अनुसार अनुगमन तथा सहजीकरण समितिको बैठकमा लगानी बोर्ड उपाध्यक्ष समेत रहनुभएका खनालले काम गर्न सकिने जति परियोजना अघि बढाउन निर्देशन दिनुभएको हो ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले लगानी बोर्डमा प्राप्त परियोजनाका प्रस्ताव र नीति तयारी विषयमा जानकारी गराउनुभएको छ ।
ज्ञवालीका अनुसार बोर्डमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, रासायनिक मल कारखाना, जलाशययुक्त जलविद्युत् परियोजना, एग्रो भोल्टेक परियोजना, ग्रिन हाइड्रोजन, पोडवे लगायत प्रस्ताव प्राप्त भएका छन् ।
त्यसैगरी बैठकमा लगानी बोर्डका सहसचिव हेमराज तामाङले लगानी बोर्डबाट हालसम्म १७ खर्ब १६ अर्ब रुपैयाँ बराबरका ५५ परियोजना स्वीकृत भएको जानकारी गराउनुभयो ।




खबर बजार । १३ माघ २०८२, मंगलवार २०:२६