नेपाल ‘ए’ काे लगातार दाेस्राे जीत, अमेरिका ३ विकेटले पराजित

काठमाडौं । एकदिवसीय अभ्यास शृङ्खलाको दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले अमेरिकालाई ३ विकेटले हराएको छ ।

अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । 

यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनायो । 

एकदिवसीय अभ्यास शृङ्खलाको पहिलो खेलमा हिजो नेपाल ‘ए’ ले स्कटल्यान्डलाई ४५ रनले हराएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्ड टोलीसँग नेपाल ‘ए’ ले एकदिवसीय अभ्यास शृङ्खला खेलिरहेको हो । 

नेपाल ‘ए’ ले स्कटल्यान्ड र अमेरिकासँग २/२ वटा अभ्यास खेल खेल्नेछ । नेपाल ‘ए’ ले शृङ्खलाको तेस्रो खेलमा भोलि स्कटल्यान्डसँग र आउँदो सोमवार अमेरिकासँग खेल्नेछ ।

यही वैशाख २८ देखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्यान्डबीच कीर्तिपुरको त्रिवि मैदानमा लिग–२ प्रतियोगिता हुँदैछ ।