नेताहरुको वरियता र जिम्मेवारी बाँडफाँट गर्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । वरियता र जिम्मेवारी बाँडफाँट नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भोली बस्ने भएको छ । भोली बस्ने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसअघि सोमबार बसेको सचिवालय बैठकमा गर्नुभएको प्रस्तावमाथि छलफल गरी अन्तिम निर्णय गरिने छ ।

फाइल तस्वीर

बैठकअघि विभागीय प्रमुख, प्रदेश इन्चार्ज तथा विभिन्न फाँटहरूको जिम्मेवारी बाँडफाँटको प्रस्तावित सूची तयार भएको छ भने नेताहरुको वरियताक्रम पनि छुट्टाइएको छ ।
पदाधिकारीहरूको वरीयताक्रम र जिम्मेवारी धेरैको चासोमा परेको थियो । पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनपछि पदाधिकारी तथा सदस्यहरूको वरीयता निर्धारण गरिएको थिएन ।
प्रस्तावित पदाधिकारीहरूको वरीयताक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपाध्यक्ष रामबहादुर थापा रहनुभएको छ ।
त्यसपछि उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल ,पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त रहेका छन् । त्यसपछि महासचिव शंकर पोखरेल रहनुभएको छ ।
उपमहासचिवमा पहिलो लेखराज भट्ट, दोस्रो रघुवीर महासेठ र तेस्रोमा योगेश भट्टराई रहनुभएको छ । सचिवको पहिलो वरियतामा छविलाल विश्वकर्मा पर्नुभएको छ भने त्यसपछि प‌द्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत रहेका स्रोतले बताएको छ ।