राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा, हेर्नुहोस् कुन प्रदेशमा मतदान केन्द्र कहाँ ?

काठमाडौं । निर्वाचन आयोगले भोली बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने भएको हो ।

आयोगकाअनुसार निर्वाचनका लागि आवश्यक सबै तयारी लगभग सकिएको र मतदान केन्द्रहरुमा मंगलबार बुथ निर्माणको काम जारी रहेको छ । सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश १ मा दुई र अन्य प्रदेशहरुका एक/एक वटा मतदान स्थल छन् ।

कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा मतदान गराइने छ । प्रदेश १ को मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय मोरङ्गको विराटनगरमा मतदान स्थल तोकिएको छ । यसैगरी प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुने छ ।

लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुनेछ ।

आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो । सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

निर्वाचनमा ९ दलका ४३ जना उम्मेदवार छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले भाग लिन पाउँछन् । सातै प्रदेशमा कूल २०२५ मतदाता छन् ।