
सुर्खेत । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशमा निर्माणाधीन तथा सञ्चालनमा रहेको रंगशाला संरचनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका सन्दर्भमा उहाँले रंगशालाको अवस्था र आवश्यक पूर्वाधारबारे जानकारी लिनुभएको हो ।
अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक तयारी अघि बढाइने बताउनुभयो ।
प्रतियोगिताको मिति छिट्टै तय गर्ने प्रक्रियामा सरकार रहेको उहाँको भनाइ थियो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले निरीक्षणका क्रममा रंगशालाको भौतिक अवस्था, तयारीको प्रगति र आवश्यक पक्षबारे मन्त्री पोखरेललाई जानकारी गराउनुभएको थियोे ।
निरीक्षणपछि मन्त्री पोखरेलले कर्णाली क्षेत्रमा खेलकुद पूर्वाधारको आवश्यकता अझै रहेको उल्लेख गर्दै संरचना विस्तार र सुधारका विषयमा सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक सुविधा विकासमा सम्बन्धित निकायसँग समन्वय गरिने बताउनुभयो ।




खबर बजार । २ असार २०८३, मंगलवार २०:१७