कर्णालीका मुख्यमन्त्रीलाई प्रदेश सभाबाट विश्वासको मत प्राप्त

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि २१ जना प्रदेशसभा साँसद्ले विश्वास गरेका छन् । उहाँले प्रदेश सभाको बहुमत सांसद्बाट विश्वासको मत प्राप्त गर्नुभएको हो ।

४० सदस्य रहेको प्रदेश सभामा उपस्थित सांसद संख्या ३६ थियोे भने, विपक्षमा १३ मत प्राप्त भएको छ । यसैगरी, २ सांसदले तटस्थ मत दिएका छन् ।

त्यसअघि कर्णाली प्रदेशमा सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र नेकपा (एमाले)बीच मन्त्रालयको भागबण्डा भएको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनुअघि दुई दलबीच सरकार गठन र सञ्चालनका विषयमा सहमति भएको हो ।

दुई दलका संसदीय दलबीच ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाउने भएको छ ।

यस्तै, एमालेको भागमा आर्थिक मामिला तथा योजना, सामाजिक विकास र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय परेका छन् ।

सहमति पत्रमा प्रशासनिक संरचना सुधार, बजेट कार्यान्वयन र सुशासनलाई प्राथमिकता दिने उल्लेख छ । ३० लाखभन्दा माथिका योजना ठेक्का प्रक्रियाबाट मात्रै कार्यान्वयन गर्ने सहमति पनि भएको छ ।

त्यस्तै, नयाँ नीति तथा कार्यक्रम, मनोनयन र नियुक्तिका विषयमा दुवै दलको आपसी सहमतिपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति भएको छ ।

दुई दलका संसदीय दलका नेता मंगल बहादुर शाही र यामलाल कँडेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।